निर्मलाका बाबुलाई भेट्न बाबुराम र हिसिला पुगे अस्पताल

Advertisement

काठमाडौं । आफ्नो १३ बर्षीया छोरीको बलात्कार गरी हत्या भएपछि बिच्छिप्त भएर मानसिक सन्तुलन गुमाउन पुगेका निर्मला पन्तका बाबु यज्ञराज पन्तलाई भेट्न पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र उनकी पत्नी एवं पूर्वमन्त्री हिसिला यमी सोमबार अस्पताल पुगेका छन् ।

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आइतबार काठमाडौं ल्याइएको थियो । यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बाबुराम र हिसिला टिचिं अस्पताल पुगेका हुन् ।

भेटमा भट्टराईले आफूहरु निर्मलाको न्यायको लागि लडिरहेको र लगिरहने बताउँदै आफ्नो स्वास्थ्य ख्याल गर्न र धेरै चिन्ता नलिन आग्रह गरेका थिए । उनले यज्ञराजको खानपिनबारे समेत चासो राखेका थिए । यज्ञराजले भने आफूलाई खान अरुची रहेको सुनाएका थिए ।

धर्नाका क्रममा एकोहोरो बोलिरहने, नारा लगाउने, आफूले बोलेका कुरा थाहा नपाउने जस्ता समस्या भएपछि उनलाई काठमाडौं उपचारका लागि ल्याइएको हो । सुरुमा उनलाई जहाजमार्फत ल्याउन खोजिए पनि उनको असामान्य गतिविधिका कारण विमानका चालकले ल्याउन नमानेपछि गाडिमा ल्याइएको थियो ।

गत साउन १० मा छोरी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको यति लामो समय भइसक्दा पनि प्रहरी प्रशासनले दोषीलाई पक्राउ गरी कारवाही गर्न सकेको छैन् । दोषीलाई कारवाही गर्न कञ्चनपुरवासीदेखि सम्पूर्ण मुलुकभरबाट दबाब हुँदै आएको छ ।

हत्यापछि अनुसन्धानमा प्रहरीले नियतबस गम्भीर लापरवाही गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । छोरीको न्यायका लागि कहिले काठमाडौं र कहिले कञ्चनपुर गर्दै संघर्ष गर्दै आएका यज्ञराज धर्नामा बस्ने क्रममा बिरामी भएका हुन् ।

Advertisement

Advertisement

Advertisement