हातखुट्टा सिक्रीले बाँधेर ‘जादु’ देखाउन नदीमा पसेर बेपत्ता भएका जादुगरको लाश भेटियो

Advertisement

भारत । भारतको हुगली नदीमा सोमवार दिनभरिको खोजपछि जादूगर चञ्चल लाहिडीको लाश फेला परेको छ । चञ्चल आइतवार हुगलीमा जादू देखाउने क्रममा गायब भएका थिए । उनको शव सोमवार हावडा नजिक फेला परेको थियो । चञ्चललाई म्यान्ड्रेक नामले चिनिन्थ्यो ।

सोमवार राति लाहिडीका भाइले उनको शव पहिचान गरे । प्रहरीको प्रारम्भिक जाँचमा पत्ता लागेअनुसार जादूका क्रममा चञ्चल लाहिडीले अनेकौं गल्ती गरेका थिए । आफूलाई सिक्री र डोरीहरूले बाँधेर उनी पानीभित्र पस्ने अनि सकुशल बाहिर आउने जादू आजभन्दा लगभग १०० वर्षपहिले अमेरिकी जादूगर ह्यारी हौडिनीले प्रख्यात बनाएका थिए ।

आइतवार लाहिडीलाई पानीभित्र पठाइँदा उनको हात र गोडा बाँधिएको थियो । उनले पानीभित्र सिक्री कसरी खोल्छन् भन्ने प्रश्नको उत्तर लाहिडीको टोलीका सदस्यले बताइनन् । त्यसमाथि उनले लगाएका कपडाका कारण नदीको तीव्र धारामा पौडन समेत निकै गाह्रो हुने देखिन्थ्यो ।

प्रख्यात जादूगर पीसी सरकार पनि यस्ता जादू देखाउन जान्दछन् । उनले भने, ‘शायद लाहिडीले अझै बढी अभ्यास गर्नुपर्थ्यो ।’ लाहिडीलाई पानीमा पसाएको १५ मिनेटभित्र नै उनको टोलीले उनलाई बचाउन कोशिश जारी राख्न भनेका थिए ।

बन्दरगाह प्रहरीका डीसी सैयद वकार रजाले भने, ‘उनी लामो समयसम्म पानीमाथि नआएपछि मानिसहरू चिन्तित बने । केही प्रत्यक्षदर्शीहरूका अनुसार, नदीको बीचमा एक व्यक्ति बगेर आइरहेको देखिन्थ्यो र ऊ सहायताका लागि चिच्याइरहेको थियो । प्रहरीलाई यसको सूचना दिइएपछि गोताखोर र विपत व्यवस्थापनको टोलीले उद्धारकार्य थाल्यो ।’

लाहिडीका सहायक तथा भतिजा रुद्रप्रसाद लाहिडी भन्छन्, ‘जादूगर म्यान्ड्रेक सिक्री खोलेर माथि आउनुभएको थियो र उहाँले हात पनि हल्लाउनुभएको थियो । तर उहाँ अचानक गायब हुनुभयो । हामीहरूले चिन्तित भएर प्रहरी बोलायौं ।’

चञ्चलकी आमा उमा लाहिडीले आफ्नो छोरालाई याद गर्दै भनिन्, ‘उसलाई बाल्यकालदेखि नै जादू मन पर्थ्यो । एकदमै कम उमेरमा उनी आफ्ना क्रियाकलापका कारण प्रसिद्ध बनेका थिए ।’

लाहिडीले यो जादूका लागि अनुमति लिँदा नियमको कमीको फाइदा उठाएको र ज्यान गुमाएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसमा लापरवाहीको मुद्दा दर्ता गरिनेछ ।

Advertisement

Advertisement