सेबोनको एक्सनपछि शेयर बजारमा पहिरोः १७ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पहिरो गएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले जोखिमयुक्त अवस्थामा रहेका ५१ कम्पनीको सूची सार्वजनिक गरेको भोलिपल्ट बजार ५२.३९ अंकले घटेको हो । १.७३ प्रतिशतले बजार घट्दा ३ हजार माथि रहेको नेप्से परिसूचक २९६९.७२ अंकमा झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजारमा पहिरो गएको दिन आज लघुवित्त समूहमा बहार छाएको छ । लघुवित्त समूह १३९.७४ अंकले बढ्दा बाँकी अरु सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०५.८३ अंकले घटेको हो । 

बजारमा पहिरो जाँदा पनि सीईडीबी हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सीईडीबीका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका हुन् ।

नेप्सेका अनुसार आज १७ वटा कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । जोशी हाइड्रो ९.९४, गुराँस फाइनान्स ९.९२, नेशनल हाइड्रो ९.९१, छ्याङ्दी हाइड्रो ९.८८, अरुण खोला जलविद्युत ९.८५, बेस्ट फाइनान्स ९.७८, पञ्चकन्या माई हाइड्रो ९.७६, घलेम्दी हाइड्रो ९.७५, दिब्यश्वरी हाइड्रो ९.७२, मल्टीप्रपोज फाइनान्स ९.७२, नेपाल फाइनान्स ९.७०, पोखरा फाइनान्स ९.५८, प्रोग्रेशिभ फाइनान्स ९.५२, समृद्धि फाइनान्स ९.४१, पाँचथर पावर ९.२९, हिमालयन उर्जा ९.११ र सोल्टी होटलको शेयर मूल्य ९ प्रतिशतले घटेको हो । 

आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ६० करोड ९० लाख १२ हजार ३ सय २६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

लगातार बढिरहेको बजारमा हिजो करेक्शन आई ३.७२ अंकले घटेको थियो भने १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपियाँ बराबरको कारोबार भएको थियो । 

५१ वटा कम्पनी जोखिमयुक्त अवस्थामा, विचार गरेर लगानी गर्न बोर्डको सुझाव

Advertisement

Advertisement