भारतसँग लामो समयसम्म महंगो बिजुली किन्न सकिन्नः घिसिङ, उद्योगहरुमा अघोषित लोडसेडिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट लामो समयसम्म महंगो बिजुली किन्न नसक्ने बताएका छन् । 

भारतबाट आयात हुँदै आएको बिजुली कटौती भएसँगै औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएपछि बिहीबार उनले पत्रकार सम्मेलन गरेर स्थिति बताएका हुन् । घिसिङले भारतबाट आायात भइरहेको बिजुली महंगो भएकाले किन्न नसकिएको बताउँदै तर यो स्थिति धेरै दिन नरहने जिकिर गरे । 

Advertisement

विद्युत आपूर्तिमा संकट आए पनि लोडसेडिङ नहुने भन्दै उनले सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि बिजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद गर्न समस्या भएको बताए । 

अहिले बिजुली महंगिएको बेला प्राधिकरणलाई दिनमा २० देखि २२ करोड रुपियाँसम्म बढी रकम तिर्नुपर्ने र महिनामै आठ अर्ब रुपियाँ घाटा पर्ने भन्दै उनले यो स्थितिले प्राधिकरण नै धरासायी हुने संकेत गरे । उर्जा संकटपछि भारतको बिहार सरकारले नेपाललाई बिक्री गर्दै आएको बिजुली बन्द गरिदिएको छ भने भारतीय खुल्ला बजारबाट किनेको बिजुली निकै महंगो हुन पुगेको छ । 

तर यो स्थिति केही दिनको मात्र समस्या भएको घिसिङको भनाई छ । उनले भने, ‘यो एक दुई दिनको क्राइसिस हो, १५–२० वर्षपछि आएको क्राइसिस हो । अहिले पनि हामी लोड बढाउने नै हो । लोडसेडिङ हुँदैन् ।’ पछिल्लो समयमा भारतमा उर्जाको माग २५ प्रतिशतले बढेको छ भने यही बेलामा कोइलाको आपूर्ति प्रभावित भएपछि उसले उर्जा संकट सामना गर्नुपरेको छ । 

अहिले भैरहवालगायतका औद्योगिक क्षेत्रमा प्राधिकरणले अघोषित लोडसेडिङ गरिरहेको छ । उद्योगीहरुले बिद्युत आपूर्ति गर्ने प्रतिवद्धता जनाएर सरकारले बिना सुचना लोडसेडिङ गरेको भन्दै सरकारको आलोचना गरिरहेका छन् । 

Advertisement

Advertisement