नेपाल वायुसेवा नाफामा लानसक्ने एउटै व्यक्ति हुन कंसाकार, तर नेताको रोजाईमा अयोग्यहरुमात्रै

Advertisement

काठमाडौं । ऋणको बोझले धरासायी अवस्थामा पुगेका राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगममा यतिबेला सुगतरत्न कंसाकारको अभाव खड्किएको छ । निगम बचाउने मात्रै होइन्, नाफामा लानसक्ने ल्याकत कंसाकारबाहेक कसैमा पनि छैन भन्ने तथ्यले पनि देखिएको छ । 

तर प्रधानमन्त्री, मन्त्री हुने हाम्रा नेताहरुको रोजाईमा जहिल्यै अयोग्यहरु पर्दा निगमको अवस्था झन जर्रजर्र भएको छ । निगमको ऋण बढेर अहिले ४७ अर्ब पुगेको छ । यो ऋण घटाउने र निगमलाई नाफामा लान आंट र भिजन भएको व्यक्ति चाहिन्छ । यो आंट र भिजन नहुनेले निगम हाँक्न सक्दैनन भन्ने कुरा कंसाकारले छोडेपछि आएका कार्यकारीहरुको काम गराईबाट देखिएको छ । 

Advertisement

२०४६ सालपछि ओरालो लाग्दै आएको निगमलाई जहाजशुन्य हुनबाट जोगाउने काममा कंसाकारकै मुख्य भूमिका रह्यो । राजाको शासन कालसम्म नेपालको जहाजहरु युरोपका शहरहरुसम्म उड्ने गरेको गौरवमय इतिहास छ । उनले जोखिम र चुनौति मोलेर जहाज किन्ने प्रक्रिया अघि बढाएले अहिले निगमसँग दुई वटा न्यारो बडी र दुई वटा वाईड बडी जहाज भित्रिन संभव भएको हो । कंसाकारको ठाउँमा अरु कुनै पनि व्यक्तिले आइपर्ने अवरोधहरु झेरेर जहाज ल्याउन सक्दैथ्यो भन्ने तथ्य स्वयम निगमका कर्मचारीदेखि पर्यटन व्यवसायीहरुले बताउँदै आएका थिए । 

अन्तर्राष्ट्रिय उडानको जहाज किन्ने जस्तो अर्बौं रुपियाँको सार्वजनिक खरीद प्रक्रिया जटिल विषय हो । यसमा हवाई माफियाको चलखेल, राजनीतिक र कर्मचारीतन्त्रको स्वार्थ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, निगमकै कर्मचारी युनियनहरु जस्ता पक्षको अवरोध पन्छाउँदै कंसाकारले जहाजहरु ल्याएकाले निगम घाटैमा गए पनि राष्ट्रिय ध्वजाबहाकको लाज छोप्पिएको छ । 

युरोपेली जहाज निर्माता एयरबसको न्यारो बडी (ए–३२०–२००) जहाजहरु खरीद प्रक्रियामा उनलाई दर्जनौं पटक अख्तियार, संसदीय समिति र अदालतमा बयान लिइयो र अन्तिममा जेल पठायो । तर पछि कंसाकार निर्दोष ठहरिए । उनले सुरुवात गरिदिएकै कारण न्यारोबडी जहाजहरु पछि काठमाडौं आइपुगे । एयरबसकै वाइडबडी जहाज खरीद प्रक्रिया अरुले गर्ननसक्ने देखेपछि कंसाकारलाई नै निगममा ल्याइयो र उनले पहिले जस्तै चुनौतिहरु सामना गर्दै ऋण जुटाएर जहाज किन्न सफल भए । उजुरीका आधारमा अख्तियारले छ पटकसम्म वाइडबडी जहाज खरीद प्रक्रियामा छानवि गरेर पनि कैफियत भेट्न सकेन् । जहाज खरीद प्रक्रियालाई सर्वोच्च अदालतले पनि रोकेन् । 

यद्यपि सार्वजनिक लेखा समितिले भने वाइडबडी जहाज खरीदमा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको दावी गर्दै अख्तियारलाई छानविन गर्न निर्देशन थियो । जबकी यो एउटा राजनीतिकरुपमा तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताधारी दल नेकपालाई ‘हिट’ गर्न प्रयोग गरेको अस्त्र थियो । समितिका सभापति भरत शाहले कांग्रेसकै राजन केसीको संयोजकत्वमा उपसमिति बनाएर भ्रष्टाचार भएको दावी गरे पनि त्यसमा आधार र प्रमाण देखिन्न । यदि भ्रष्टाचार नै भएको हो भने त्यसको कनेक्न खोज्दै जाँदा हालका प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसकै नेताहरु तानिने भएपछि यो मुद्दा अहिले सो पार्टीले उठाउन छोडेको छ । खरीदका क्रममा अर्को जहाज निर्माता कम्पनी बोइङका नेपाली एजेण्टको छटपटि र चलखेलले पनि यसमा काम गरेको देखिन्छ । 

कंसाकारलाई जहाज मात्रै किनेका थिएनन्, त्यसबाट व्यवसाय गरेर ऋण पनि तिर्ने, निगमलाई नाफा पनि लैजाने र अरु पनि जहाज खरीद गर्ने योजना बनाएका थिए । तर त्यो व्यवसायिक योजना लागू गर्न नदिई उनलाई निगमबाट हटाइयो । उनी हटेसँगए आएका कार्यकारी अध्यक्ष तथा महाप्रवन्धकहरुले आफ्नो र आफूलाई नियुक्त गर्ने मन्त्रीको सोच प्रयोग गर्ने थलो मात्रे बनाए निगमलाई । गएको छ बर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सात जना मन्त्री फेरिँदा निगममा छ जना कार्यकारी प्रमुख फेरिएका छन् । यस्तो अस्थिरतामा गुज्रिएको निगमलाई कोरोना महामारीले पनि झन धक्का दियो । अध्यक्ष र महाप्रवन्धक नियुक्त हुँदै आएका पार्टी कार्यकर्ताहरुले व्यवसायिक हिसावले काम गर्नेभन्दा पनि कसरी आफू टिक्ने भन्नेमा केन्द्रीत रहे । 

पछिल्लो समयमा सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस)भित्रको किचलोका कारण निगमको कार्यकारी अध्यक्ष हटाउने र महाप्रवन्धक नियुक्ती गर्ने काम भयो । सो पार्टीका नेता झलनाथ खनालको कोटाबाट अध्यक्ष नियुक्त भएका निगमकै कर्मचारी युवराज अधिकारी तत्कालिन मन्त्री प्रेम आलेसँग कुरा नमिलेपछि निलम्बित भएर अहिले दीपु ज्वारचन महाप्रवन्धक नियुक्त भएका छन् जसको नियुक्ति पनि विवादित रहँदै आएको छ । अधिकारीको निलम्बन र ज्वारचनको नियुक्ती नेकपा एसभित्रको विवादको परिणाम थियो । पर्यटनमन्त्रीको रुपमा जीवनराम श्रेष्ठ आएकाले आलेले नियुक्त गरेको व्यक्तिलाई कायम राख्छन भन्ने संभावना देखिन्न । 

निगमको अवस्था बिग्रिदै जाँदा निगमकै कर्मचारी भने कंसाकार आइदिए निगमको अहिलेको दयनीय अवस्थामा सुधार हुने आशामा छन् । तर सरकार सञ्चालन गर्ने नेताहरु त्यसका लागि तयार छैनन् । अरुबाट निगम सुधार हुने भन्दा झन डुब्ने अवस्था आएपछि निगमकै कर्मचारी संघका नेताहरुले पटक पटक कंसाकारलाई घरमै गएर नेतृत्व लिइदिन पनि आग्रह गर्दै आएका छन् । त्यसका लागि उनीहरुले विभागीय मन्त्रीदेखि सचिव प्रधानमन्त्री र पार्टीका अध्यक्षहरुसम्मलाई पनि आग्रह गरे । तर कसैले सुनुवाई गरेन् । 

निगमका कांग्रेसनिकट कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले आफूहरुले कंसाकारलाई नेतृत्व लिएर निगम बचाउन आग्रह गर्न गएको स्वीकार गरे । उनले ज्वारचन महाप्रवन्धक नियुक्त भएकाले केही समय उनको काम हेरौं भन्ने रहेको बताउँदै तर निगम बचाउन क्षमता भएकै मानिस चाहिने स्वीकार गरे । 

निगमकै कर्मचारी युनियनका एक प्रतिनिधिले कंसाकारबाहेक अरुलाई निगम सुधार गाह्रो हुने बताउँदै वाइडबडी खरीद प्रकरणमा उनलाई मुछेर निगममा आउन अवरोध सिर्जना गर्ने काम भएको बताउँछन् । उनले भने, ‘अहिलेको प्रतिस्पर्धात्मक समयमा निगमलाई अघि बढाउन पार्टीको कार्यकर्ताभन्दा पनि व्यवसायिक मान्छे नै चाहिन्छ भन्ने हाम्रो ठहर हो । त्यही भएर उहाँ नै आइदिए जुन उहाँले व्यवसायिक योजना बनाउनुभएको थियो, त्योअनुसार काम गर्नुपर्ने नैतिक बाध्यता पनि हुन्थ्यो । कर्मचारीमा कंसाकार सर आएपछि नयाँ उर्जा पनि हुन्थ्यो भनेर प्रयास गरेको हो ।’

ग्राउण्ड ल्याण्डलिङवापत बार्षिक चार अर्बभन्दा धेरैको आम्दानी गर्ने मौका पाउँदा पनि आफ्नो अवस्था सुधार्न नसकेको निगमका लागि जहाज किन्दाको ऋण अहिले ठूलो बोझ भएको छ । त्यसमाथि अनुदान तथा ऋणमा आएका चिनियाँ जहाज अर्को बोझको रुपमा रहेका छन् । निगमभित्रको बेथिति, भ्रष्टाचार, राजनीतिक हस्तक्षेपबाट गुज्रिदै आएको निगमले दिने सस्तो र प्रभावकारी सेवा विस्तार नहोस भन्ने चाहना आक्रामकरुपमा आइरहेका विदेशी एयरलाइन्स कम्पनीहरुको देखिन्छ । यी चुनौतिहरुको सामना गर्नसक्ने एक मात्रै व्यक्तिको रुपमा कंसाकार देखिन्छन् । कंसाकार नेपाल दूरसञ्चार कम्पनीमा पनि आब्बल कार्यक्षमता प्रस्तुत गरेर आएका व्यक्ति हुन् । 

Advertisement

Advertisement