हेटौंडा कपडा उद्योग संचालनको लागि तयारी अवस्थामा रहनुहोलाः मन्त्री बडू

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलेतीन दशकअघि आफ्नै पार्टी नेपाली कांग्रेसको सरकारले बन्द गरेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन् । 

मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौँडामा बिहीबार आयोजित अन्तक्रिया कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई आफ्नो स्वामित्वको ठूला उद्योग सञ्चालन गर्न दिने योजना बनाएकोले त्यसमा तयार रहन आग्रह गरेका हुन् । 

Advertisement

तीन वर्षदेखि बन्द भएकाले जीर्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सरकारले यसअघि पनि पटकपटक सञ्चालन गर्ने बताउँदै आएको थियो । राजा महेन्द्रले स्थापना गरेका कारण कांग्रेसले हेटौंडा कपडा उद्योगसहित अन्य उद्योगहरु बन्द गरेको थियो । उक्त निर्णयको जनस्तरबाट चर्को विरोध हुँदै आएपछि अहिले  पुनः सञ्चालनको कुरा अघि बढाइएको हो । 

निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पत्तिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनःसञ्चालनमा टेवा पुग्ने देखिएपछि सरकार कपडा उद्योग निजी क्षेत्रलाई दिन तयार भएको बडूले बताए । उनले त्यसका लागि आवश्यक योजना अघि बढिसकेको जानकारी दिए । 

कपडा उद्योग पुनःसञ्चालनका लागि सरकारले बजेटमै उल्लेख गरिसकेको भन्दै बडूले सरकारीस्तरबाट भन्दा पनि निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीब्रता देखिने भएपछि आवश्यक योजना अघि बढाइएको बताए । 

उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि मोडालिटी तयार गरेर सोहीनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको उल्लेख गर्दै सञ्चालनको मोडालिटीको काम अन्तिम चरणमा पुगेको समेत बताए । बडूले औद्योगिक क्षेत्रमा ओगटिएका जग्गा ठूला उद्योग सञ्चालनका लागि इच्छुकलाई दिन र भाडा नतिरेकालाई कानुनबमोजिम जरिवानासहित भाडा असुल्न मन्त्रालय तयार रहेको बताए ।  

मन्त्री बडूसमक्ष उद्योगीहरुले हेटौंडा औद्योगिक क्षेत्रभित्र जग्गाको भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका थिए । संघले मन्त्री बडूलाई ज्ञापनपत्र बुझाउँदै बढेको भाडादर लागू नगर्न आग्रह गरेका थिए । 

संघका अध्यक्ष स्वागतराज प्याकुरेलले मन्त्री बडूलाई नयाँ भाडा दर लागू भए आफूहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए । उनले कोरोना महामारीका कारण थला परेका उद्योगहरु तंग्रिन खोजिरहेको समयमा उद्योगीलाई भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको बताए । 

भाडा वृद्धि आवश्यक नभएको तथ्यांकसहित तत्काल भाडा वृद्धि फिर्ता लिन संघले गरेको आग्रहप्रति मन्त्री बडूले आफ्नो ध्यानाकर्षण भएको र बुझेर निर्णय गर्ने बताएका थिए । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयले २०७५ साउन १ गते वृद्धि गरेको भाडादर हेटौंडामा चार वर्षपछि अर्थात् चालु आर्थिक वर्षबाट लागू भएको छ । केन्द्रले चार वर्षअगाडि तोकिएको भाडादर लागू गर्न औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्र हेटौंडालाई पत्राचार गरेसँगै उद्योगलाई नयाँ भाडा दरबारे पत्राचार भएको हो । 

यसअघि १ रोपनी जग्गाको औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले प्रतिवर्ष ८ हजार ३ सय रुपियाँ भाडा तिर्दै आएका थिए भने अब नयाँ भाडादर प्रतिरोपनी प्रतिवर्ष पाँच प्रतिशतले वृद्धि भएको छ । 

Advertisement

Advertisement