बहुर्राष्ट्रिय कम्पनीले आठ महिनामा लाभांश र रोयल्टीवापत १३ अर्ब ४६ करोड लगे

Advertisement

काठमाडौं । चालु वर्षको आठ महिनाभित्र नेपालमा व्यवसाय गर्ने बहुराष्ट्रिय कम्पनीहरुले लाभांस र रोयल्टीवापतको १३ अर्ब ४५ करोड ९८ लाख रुपियाँ रकम लगेका छन् । यसमा प्रविधि हस्तान्तरणवापतको रकम पनि रहेको छ । 

उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै २८ करोड ८१ लाख रुपियाँ लाभांस र रोयाल्टीवापत रकम लैजान स्वीकृति दिइएको छ । यसरी रकम लैजानेहरुमा एनसेल अजियटा लिमिटेड, सूर्य नेपाल प्राली अगाडि छन् । 

Advertisement

एनसेलमा २० प्रतिशत मात्रै स्वदेशी लगानी रहेको बताइन्छ यस्तै, राजा ज्ञानेन्द्र शाहको ३९ प्रतिशत लगानी रहेको बताइँदै आएको सूर्य नेपालमा एमआईटी होल्डिङको ५९ प्रतिशत र बाँकी दुई प्रतिशत बेलायती तथा अमेरिकन कम्पनीको रहेको छ । एमआईटी होल्डिङ भारतीय कम्पनी हो । यो कम्पनीले आफूले गरेको नाफाको केही रकम नेपालमै लगानी गरेको देखिन्छ । एमआईटी होल्डिङले बुढानीलकण्ठमा ७२ रोपनी जग्गा खरिद गरेर होटल निर्माणको कामलाई अघि बढाएको छ । होटलको इन्जिनियरिङ डिजाइनसमेत तयार भइसकेको र चाँडै कागजी प्रक्रिया पूरा गरेर निर्माण कार्य सुरु गर्ने स्रोतले जानकारी दियो ।  

सूर्य नेपालले गत आर्थिक वर्ष २०७८–७९ मा मात्रै साढे ४७ अर्बको व्यापार गर्दै नेपालको सबैभन्दा धेरै कारोबार गर्ने र धेरे कर तिर्ने कम्पनीको रुपमा स्थापित भएको छ । अघिल्ला बर्षहरुमा पनि सूर्य नेपाल व्यापार र कर योगदानमा प्रायः अगाडि रहने गरेको छ । 

यसैगरी, दूरसञ्चार कम्पनी एनसेलले गत वर्ष ४० अर्ब रुपियाँभन्दा बढिको व्यापार गरेको थियो । धेरै लाभांश तथा रोयल्टी लैजाने विदेशी लगानीका कम्पनीहरुमा युनिलिभिर नेपाल, डाबर नेपाल, केएफसी, बोटलर्स नेपाल, वरुण वेभरेज लगायत रहेका छन् । यो उनीहरुले लैजान पाउने रकमवापतको बाँकी रकम यस आर्थिक बर्षको पहिलो आठ महिनामा कति लगे ? भन्ने विवरण हो । 

कति आयो लगानी प्रतिवद्धता ? 
उद्योग विभागले गएको फागुन महिनामा १५ वटा विदेशी लगानी स्वीकृत गरेको छ। यो स्वीकृतिबाट एक अर्ब ९२ करोड ९० लाख रुपियाँको प्रतिबद्धता आएको छ । 

चालु वर्षको पहिलो आठ महिनामा १५९ वटा उद्योगबाट २० अर्ब ५६ करोड बराबरको प्रतिबद्धता आएको छ । यसैगरी, हालसम्म विदेशी लगानी पाँच हजार ६९२ वटा लगानी स्वीकृत भइसकेको छ । यो स्वीकृतिबाट चार खर्ब ३९ अर्ब ४२ करोड रुपियाँ बराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ । हालसम्मको विदेशी लगानीबाट मात्रै तीन लाख १५ हजार जनाले रोजगारी पाउने विभागको भनाई छ । 

विभागले फागुन महिनामा मात्रै एक अर्ब ५२ करोड बराबरको आठ कम्पनीको एसपीए र एसएसए अप्रुभल गरेको छ । यस्तै आठ महिनामा यस्तो अप्रुभल ४३ वटा कम्पनीको स्वीकृत भएको छ, जसबाट १० अर्ब ६५ करोड बराबरको शेयर खरिद बिक्री तथा हक हस्तान्तरण भएको छ । यसरी आएका विदेशी लगानीहरुमा अधिकांश साना उद्योग छन् । यो वर्ष १३९ वटा साना, २२ वटा मझौला र तीन वटा मात्रै ठूला उद्योगमा लगानीको प्रतिवद्धता आएको छ । 

Advertisement

Advertisement