कर्मचारीहरुलाई निर्देशन– मलाई चाकडी नगर्नुहोला

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गरे मन्त्री श्रेष्ठले

Advertisement

काठमाडौं । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । 

शुक्रवार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए । 

Advertisement

त्यसैगरी, श्रेष्ठले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरे । सो फाइलपनि निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइयो । 

श्रेष्ठले भने, ‘मैले पदबहाली गर्दा दुईवटा विषयमा फाइलमा हस्ताक्षर गरेको छु । त्यो दुईवटै विषय प्रश्तावको रुपमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिनेछ । एउटा, अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ । र त्यसलाई मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्तुत गर्ने मैले प्रश्तावमा सही गरें । त्यो मन्त्रिपरिषद् जान्छ । दोस्रो, अहिलेको एउटा मुख्य समस्या मिटरब्याजीको समस्या छ । मिटरब्याजी पीडितहरुलाई न्याय दिन र २१ औँ शताब्दीको आजको लोकतान्त्रिक नेपालमा पनि सामन्तवादका अवशेषहरु जुन रुपमा देखा पर्दैछन् । अत्यन्त पीडाको विषय हो हामी सबैका लागि । त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानूनलाई केही संशोधन गर्नेगरी विधेयक तयार पनि पारिसकेको छ ।’ 

उनले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने भन्दै श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे । 

Advertisement

Advertisement