अहिलेको अवस्था आर्थिक संकट नभएर चुनौति मात्रै, पुँजीगत खर्च बढाए समाधान हुने दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक संकटको अवस्थालाई आर्थिक चुनौति मात्रै भएको बताउँदै पुँजीगत खर्च बढाएर यो चुनौति समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको अर्थतन्त्रमा देखापरेका समस्या र चुनौतिको सम्बोधन गर्न पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न जरुरी रहेको बताए । दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतिलाई सम्बोधन गर्ने गरी काम गरिरहेको बताए । 

Advertisement

उनले पुँजीगत खर्च समयमा हुन नसक्दा विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभई अर्थतन्त्रमा बहुआयामिक असर पार्ने उल्लेख गरे । दाहालले तीन वटै तहको सरकारले पुँजीगत खर्चलाई तीब्रता दिन आग्रह गरे । सरकारले गर्ने विकास निर्माणका कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक रहेको उनले बताए । 

प्रधानमन्त्री दाहालले अन्तरतह समन्वय गर्ने विषयमा अवश्य पहल गर्ने सरकार तयार रहेको बताए । उनले बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालयहरू र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रो भएका विकास आयोजनाहरूमा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाउन निर्देशन दिए । 

दाहालले सरकारले आगामी बजेट, नीति तथा कार्यक्रम बनाउँदा गुणात्मक ढङ्गले परिणाममुखी हुनेगरी ल्याउन जरुरी रहेको बताए । उनले सरकारले आगामी बजेट परम्परागत ढङ्गमा भन्दा पनि जनताको अपेक्षा र असन्तुष्टिहरुलाई सम्बोधन गर्नेगरी ल्याउने प्रतिवद्धता जनाए । दाहालले वर्तमान अर्थतन्त्रका समस्या समाधान गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई कार्ययोजना बनाउन समेत निर्देशन दिए । 

उनले भने, ‘हेर्दा ठूलो समस्याहरु देखिन्न तर सरकारको  बजेट,योजना र कार्यक्रम ठिक ढङ्गले कार्यान्वयन हुन सकेका छैनन् । समस्याहरु केके हुन समस्याको पहिचान गरी समाधानका प्रभावकारी उपायहरु निर्कोल गर्नुपर्ने कार्य अहिले नै गर्नुपर्नेछ । मन्त्रीहरुले यो विषयमा ठोस कार्य गर्नुहुन्छ भन्ने विश्वास छ । अन्तरमन्त्रालय समन्वयका समस्याहरु छन् । ती समस्यालाई तत्काल समाधान गर्न जरुरी रहेको छ । पुँजीगत खर्च समयमा हुन सकेन भने देशका विकास निर्माणको कार्यमा पछि पार्ने मात्रै नभएर त्यसले अर्थतन्त्रमा बहुआयामीक असर पर्न जान्छ ।’ 

प्रधानमन्त्री दाहालले  विश्व अर्थतन्त्रमा देखिएका चुनौति र नेपालको अर्थतन्त्रमा देखिएका संरचनागत समस्याहरुलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि एवं सामाजिक पद्धतीको आधार निर्माण गर्नु आवश्यक रहेको बताए । उनले वर्तमान  विषम परिस्थितीमा खर्चमा मितव्ययिता गर्ने स्रोत परिचालनमा मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा सरकारले ध्यान केन्द्रित गर्ने बताए । दाहालले सरकारले आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने  सन्र्दभमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पटक–पटक छलफल गरेर साझा धारणा बनाउने प्रयास गरिरहेको बताए । 

उनले अर्थतन्त्रमा केही तथ्याङ्क सकारात्मक र केही नकारात्मक रहेको बताए । उनले राष्ट्रिय योजना आयोगले १५ औं योजनाको मध्यवधि समीक्षाको मूल्याङ्कनमा समग्र देशको विकासमा अपेक्षित रुपमा सफलता हासिल गर्न नसकेकाले धेरै आयोजना सुधार गर्न आवश्यक देखिएको बताए । 

उनले भने, ‘विश्व अर्थतन्त्रमा देखिएका चुनौतिका साथै नेपालको अर्थतन्त्रमा देखिएका संरचनागत समस्याहरुलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि एवं सामाजिक पद्धतीको आधार निर्माण गर्न यस्ता छलफलले बल मिल्नेछ । अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययीता गर्ने स्रोत परिचालनमा मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा सरकारले ध्यान केन्द्रित गर्नुछ । सरकारले आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने सन्र्दभमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पटक–पटक छलफल गरेर साझा धारणा बनाउने प्रयास गरिरहेका छौं । आजको छलफलले पुँजीगत खर्च बढाउने, साधरण खर्च घटाउन विशेष ध्यान दिनुपर्छ । अर्थतन्त्रमा केही तथ्याङ्क सकारात्मक र केही नकारात्मक छन् । यसको समाधान गर्न यो छलफलले महत्वपूर्ण हुने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले सरकार आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९–८० को अर्धवार्षिक समीक्षासहितको प्रस्तुति राखे ।

Advertisement

Advertisement