तरलता अभाव हटाउन भन्दै जग्गा वर्गीकरण बिना नै कित्ताकाट खोल्ने दाहालको तयारी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै स्थितिमा जग्गाको कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका छन् । पोखराका उद्योगी व्यवसायीसँगको कार्यक्रममा उनले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नै नगरी जग्गाको कित्ताकाट खोल्ने बताएका हुन् । 

बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने दाहालले सरकारले पूरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको बताए । उनले भने, ‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ । कित्ताकाट रोकिएको छ । बेचबिखन रोकिएको कारण पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो भन्ने कुराले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोशिस गरेका छौं ।’

Advertisement

खेतीयोग्य जग्गा जथाभावी प्लटिङ गरी सिध्याउन लागिएपछि यस्तो जग्गा जोगाउन जग्गाको वर्गीकरणको माग उठेको थियो । सोही माग सम्बोधन गर्न सरकारले वर्गीकरणपछि मात्रै जग्गाको कित्ताकाट खोल्ने योजना बनाएको थियो । साथै, सरकारले यसै वर्ष ल्याएको भू–उपयोग नियमावलीअनुसार स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम हुँदाहुँदै पहिलेको जस्तै बेथिति सिर्जना हुने गरी दाहालले कित्ताकाट खोल्ने कुरा गरेका हुन् । 

उनले ब्याजदरलाई एकल अंकमा झार्ने आफ्नो प्रयास रहेको बताउँदै अर्थतन्त्र पहिले भन्दा सुधारतर्फ गएको दावी पनि गरे । दाहालल भने, ‘केही न केही राहततिर गएका छौं । संकट निवारण भइसक्यो भन्ने होइन ।’

Advertisement

Advertisement