काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने तोकिएको छैन् ।
सोही आयाग गठन गर्ने तत्कालिन अर्थमन्त्री रामशरण महतलाई भने अदालतले दोषी औंंल्याएको छैन् । व्यापारीहरुलाई आयोगमार्फत कर छुट दिने कुरा महतकै निर्देशनमा भएको भनिए पनि आयोगका पदाधकारीलाई मात्रै दोषी ठहर गरेर अदालतले महतलाई भने निर्दोष कायम गरेको छ ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार सजाय तोक्न आगामी २५ गते पेशी तोकिएको छ । शर्मासहित तीनै जनालाई तीन बर्षभन्दा बढी जेल सजाय हुने अनुमान गरिएको छ ।
विशेष अदालतले चुडामणि शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ । महतले २०७१ सालमा आयोग गठन गरेका थिए । आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपियाँ कर विवाद फर्छ्यौट गरी नौ अर्ब ५४ करोड रुपियाँ मात्रै असुल गरेको भन्दै मुद्दा दायर भएको थियो ।