घिसिङले नियम मिचेर कर्मचारी सरुवा गरेको भन्दै प्राधिकरणका कर्मचारी युनियन आन्दोलनमा

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियम मिचेर कर्मचारी सरुवा गरेको भन्दै प्राधिकरणका नेकपा एमाले र नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका प्रतिनिधिले आन्दोलन सुरु गरेका छन् । 

नेविप्रा कर्मचारी संघ र नेविप्रा कर्मचारी युनियनका प्रतिनिधिहरु गैरकानुनी सरुवाको विरोधमा बुधबारदेखि नै कार्यकारी निर्देशकको कार्यकर्तामा धर्नामा बस्न थालेका हुन् । उनीहरुले शुक्रबारसम्म हरेक दिन बिहान दुई घण्टा धर्नामा बस्ने र त्यति गर्दा पनि सरुवा नसच्याए आन्दोलनका सशक्त कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । 

Advertisement

कांग्रेसनिकट कर्मचारीका एक नेताले आज बिहीबारसम्म व्यवस्थापनले वार्ताका लागि बोलाउने संभावना देखिएको बताए । उनले माग सम्बोधन नभए घिसिङविरुद्ध कडा आन्दोलनका कार्यक्रम ल्याउने आफूहरुको योजना रहेको बताए । 

दुवै कर्मचारी युनियनले कर्मचारी सेवा, शर्त विनियम २०७५ तथा अन्य मापदण्डविपरित गरेको सरुवा तीन दिनभित्र बदर गरी विनियमावलीमा उल्लेख भएअनुसारको समयमा मात्रै सरुवा गर्न कात्रिक १२ गते अल्टिमेटम दिएका थिए । 

तर प्राधिकरण व्यवस्थापनले सो कुरालाई सुनुवाई नगरेकाले विरोधमा उत्रिनुपरेको उनीहरुको भनाई छ । साथै, युनियनहरुले विद्युत विधेयक २०८० खारेज गर्न, ईपीआरमा २१ दिने हाजिरको मापदण्ड वैज्ञानिक बनाउन, सञ्चालक समितिबाट निर्णय भएको ५२ महिना सावधिक जीवन बीमा तत्काल लागू गर्न जस्ता मागहरु अघि सारेका छन् । 

Advertisement