बैंकको किस्ता र बच्चाको फि तिर्न नसक्दा पनि जनताले राष्ट्रियतामा प्रश्न उठाएः रक्षामन्त्री

Advertisement

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर भएको बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् । 

उप्रेतीले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे । उनले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए । 

Advertisement

विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै उप्रेतीले अहिले वातावरण, भोकमरी लगायतका कुराहरुसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए । सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने उनले बताए । 

उप्रेतीले भने, ‘एशियाका दुई शक्तिशाली राष्ट्रबिच रहेको नेपाल संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुक हो । अतः हाम्रो सन्दर्भमा राष्ट्रिय सुरक्षाको विषय धेरै पेचिलो र यो विषयलाई राजनीतिक तथा प्रशासनिक नेतृत्व तथा नीति निर्माण तहमा काम गर्ने प्रत्येक कर्मचारी, पदाधिकारीहरुले गम्भीरताका साथ बुझ्न र गहिरोसँग मनन गर्नको निम्ति आवश्यक छ । मुलुकको भूमी, स्वतन्त्रता, सार्वभौमसत्ता, सुरक्षा रक्षा मन्त्रालय वा नेपाली सेनाको मात्र विषय नभएर राज्यका सबै शक्ति र संगठनको साझा कर्तव्य हो । राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रको सबै शक्ति र संरचना एकढिक्का भएर उभिन आवश्यक छ । अहिले हाम्रो राष्ट्रिय सुरक्षाको विषय, राष्ट्रियताको विषय कमजोर भएको देखिन्छ । यसको विभिन्न ठाउँमा भएका अभिव्यक्तिलाई हेर्दा बैंकको किस्ता तिर्न नसक्दा पनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । बच्चाहरुको फि तिर्न नसक्दापनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ ।’

उनले थपे, ‘यदि फलानो देशले लिएको खण्डमा त हामीले सस्तोमा गाडी चढ्न पाइन्थ्यो भन्ने किसिमको समेत अभिव्यक्तिहरु आउन थालेको छ । कस्तो व्यवस्था गर्दाखेरी त्यस्तो अभिव्यक्तिहरु आउन छोड्छन् ? आफ्नो मौलिकता, संस्कृति, परम्परामाथि प्रहार गर्ने । आफूले मान्दै आएका चिजहरुलाई, आफ्नो इच्छाहरु पुरा नहुँदाखेरी लल्कार्ने । यि विषयहरुलाई कुन तरिकाले जाँदाखेरी राम्रो हुनसक्छ र आफ्नो मौलिकता रहन्छ ? भन्ने विषयमा समितिले पनि निर्देश गरोस् । हाम्रो जस्तो मुलुक गरिव हुनु आठौँ आश्चर्य हो । देशको सम्पदाहरुको महत्वलाई नबुझ्ने अनि राष्ट्रियतालाई लर्कार्ने । अनि देश फलानोले लिए सस्तोमा गाडी चढ्न पाइन्थ्यो भनेर प्रचारबाजी गर्नेहरुको पछि लागेर तालि बजाउने । राष्ट्रिय सुरक्षाको नीति तय ग¥यो भने हाम्रो देश विकास हुनलाई दश वर्षमा यो मुलुक धनि बन्छ । राष्ट्रियताको विषय सस्तो विषय होइन भनेर हामीले लिएर जानुपर्छ । राष्ट्रिय सुरक्षाको विषय आज पहिलाको इतिहासमा जस्तो घोडामा तरबार लिएर घुमाएर बोर्डरमा हिँड्ने मात्रै होइन । आज वातावरणसँग, भोकमरीसँग सम्बन्धित सबै कुराहरुमा अगाडी बढ्नु अपरिहार्य जस्तो देखिएको छ । सुरक्षाको सवालमा होल अफ द नेशनको अवधारणाले मात्रै काम गर्दछ ।’

उप्रेतीले देशको सम्पदाको महत्वलाई बुझ्नुपर्ने बताउनु भयो । प्राकृतिक स्रोत सम्पदाहरुले धनि भएर पनि नेपाल गरिव हुनु आठौँ आश्चर्य भएको बताए । उनले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश दश वर्षमा धनि बन्ने बताए । 

Advertisement

Advertisement