‘नागरिकका जेथा दलका कार्यकर्ताले जफत गर्छन्, दलहरुसँग गुण्डा, फटाहा मात्रै कार्यकर्ता हुन्छन्’

Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतवार मानव अधिकार तथा शान्ति समाजले गरेको कार्यक्रममा उनले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताइन् । 

देशमा सबै कुराहरु राम्रो भए पनि नेताहरु भने भ्रष्ट रहेका बताउँदै भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको बताइन् । देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको कार्कीको भनाई छ । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताइन् । 

Advertisement

देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै कार्कीले सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी धेरै निराश पनि हुनुहुँदैन । मुलुक छ हामीसँग । माटो छ । राज्य बन्ने कुरा त जनता पनि छ । सबै कुरा छ नभएको होइन । एउटै हामीसँग बेकम्मा के पर्यो भने भ्रष्ट नेताहरु पर्यो । तर एकदिनको कुरा होइन । भोलि आउने पनि यस्तै हुन्छ । अहिले जो नयाँ–नयाँ भएर आएका छन् त्यो पनि त्यस्तै हुन्छ । तर वातावरण बनाउनु प¥यो । भ्रष्टाचार नगर्ने वातावरण मुलुकमा हुनु जरुरी छ । यिनीहरुलाई मात्रै तपाई, हामीले दोष दिन मिल्दैन । हामीमध्ये धेरै पनि त्यस्तै छौँ । पुग्यो भन्ने कोही छैन । भ्रष्टाचार गर्नलाई अघि नबढ्ने कोही छैन । आफूलाई नहुञ्जेलसम्म बोल्ने, अनि आफूलाई भइसकेपछि पुग्ने ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरु समेत राजनीतिक दलका कार्यकर्ताहले जफत गर्ने गरेका बताउँदै राजनीतिक दलहरुसँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरु रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्ताहरुसँग भने करोडौँ सम्पत्ति भएको कार्कीको भनाई छ । 

उनले भनिन्, ‘अहिलेको सरकारको मानसिकता मैले कस्तो देखिरहेको छु भने यिनीहरुको खालि कसरी हुन्छ जफत गर्ने । जो सँग अलिअलि जेथा थियो त्यो पनि यिनीहरुले जफत गरिसकेँ । गुण्डा, फटाहा, मवाली तिनै न हुन् यिनीहरुको कार्यकर्ता । हुनत उनीहरुले चाहेर गुण्डा, मवाली लिएका होइन । तर यिनीहरुसँग अब को आउने ? त्यही त हो । यिनीहरुको काम गर्न त्यही गुण्डा, मवाली बाहेक अब बाँकी छैन । तिनै जान्छन् । तिनैले गर्न सक्छन् । अरुले त सक्दैनन् । यिनका तलका कार्यकर्ता भनेको एसएलसी पास पनि छैनन् । त्यस्ता कार्यकर्ता जो करोडौँ–करोड सम्पति लिएर बसेका छन् । यो हालत यो देशको छ । यि कारणले गर्दा व्यवस्था नै जाने भन्ने कुरा त आउँदैन । यो व्यवस्था भारतमा ठिक हुने, इंल्याण्डमा ठिक हुने । अमेरिकामा हुने । सबैतिर हुने । अर्को कुरा, संविधानको कुरामा, मेरो तर्क के छ भने संविधानमा लेख वा नलेख राम्रो कुरा गर्नलाई संविधानले कहिल्यै पनि रोक्दैन । राम्रा कुराहरु संविधानमा छैन भन्दैमा गर्न नपाइने भन्ने कुरा त होइन नि । गर्न पाइन्छ नि । संविधानका कतिपय प्रावधान त अमेरिकामै पुगेको छैन । सबै लेखेजति प्रावधान त नपुग्न पनि सक्छ । तर त्यति भनेर संविधान खराब पनि भन्न सकिदैनँ । संविधानमा केही कुरा खराब छन् भने संशोधन गर्दै गर्दै समय सापेक्ष परिवर्तन गर्दै लानुपर्ने हुन्छ ।’

कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन् । उनले संविधानमा देखिएका समस्याहरुलाई भने संशोधन गर्दै जान सकिने बताइन् । 

Advertisement

Advertisement