मेट्रो र फ्लाइओभर बनाउँदा प्राधिकरणले भूमिगत गरेको तार फेरि बाहिर निकाल्नुपर्छः डा आचार्य

Advertisement

काठमाडौं । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले काठमाडौं उपत्यकाभित्र विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अहिलेको कार्य अदूरदर्शी र ‘मुख्याइँपूर्ण कार्य’ भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यसरी पूर्वतयारी र उपयुक्त समय अगाडि नै विद्युतको तार भूमिगत गर्ने नाममा गल्ली गल्ली खन्ने काम गरिएको बताए । आचार्यले भने, ‘सडक वा बाटो भनेको ‘युटिलिटि’को ठाउँ हो । विकास एउटा चरणमा पुगेपछि त्यो बाटोमा खानेपानीका पाइप, ढलका पाइप राख्ने हो । फ्लाईओभर बनायो भने वा मेट्रो बनायो भने त्यहीँ जग खन्नुपर्ने हुन्छ । यी सबै कुरा पूरा भएपछि मात्रै विद्युतको तार भूमिगत गर्ने हो । तर अहिले त हचुवाको भरमा तार भूमिगत गर्ने काम भइरहेको छ । यसमा हाम्रा नीति निर्माण, विकासे निकाय कसैको पनि ध्यान गएको छैन् ।’ 

Advertisement

यदि अहिले विद्युतको तार भूमिगत गरियो र भोलि मेट्रो सञ्चालन गर्ने भनियो वा आकासे पुल बनाउने भनियो भने त्यो भूमिगत गरेको तार फेरि निकालेर माथि टाँग्नुपर्ने हुन्छ भन्दै उनले यसबाट राज्य र जनतामाथि ठूलो व्ययभार थप्ने, जनताले अनावश्यक सास्ती पाउने, शहर सधैं अस्तव्यस्त र फोहोर हुने बताए । डा. आचार्यले थपे, ‘त्यसकारण यो तार भूमिगत गर्ने काम बेटाइमको नचाहिँदो काम हो ।’ 

उनले इन्जिनियरिङ दृष्टिले सडक छेउ पेटीमा क्याविनेटहरु राखिनु गलत हो भने । उनले यो हेर्दा विदेशीहरुले ‘असभ्यता’को दृष्टिले हेर्ने बताउँदै आचार्यले अहिले काठमाडौं महानगरपालिकाले सडक र गल्लीहरु कालोपत्रे गर्न नपाउँदै विद्युतको तार भूमिगत गर्ने नाममा वा अन्य बहानामा तत्कालै भत्काउँदै फेरि पुर्दै पुनः भत्काउने काम भइरहेको बताए । सडक पेटी र सडक किनारमा कहाँ तार छ ? कहाँ ढल छ ? त्यसको नक्सा समेत नरहेको, खन्दा जता सजिलो हुन्छ, त्यतै भत्काउँदै टाटटुले विकास गर्ने काम भइरहेको उनले बताए ।

प्रसारणलाइनका आयोजना समयमा निर्माण नभएर विद्युत खेर गइरहेको बेला त्यो कुरालाई प्राथमिकता दिनुपर्नेमा काठमाडौंको विकासमा दिर्घकालिन असर पर्ने कामलाई किन घिसिङले प्राथमिकता दिए ? आफूले बुझ्न नसबेको डा. आचार्यको भनाई छ । उनले भने, ‘यो अहिले हतार गरेर बनाउनुपर्ने प्रोजेक्ट नै होइन् । बाटोको ‘अण्डरग्राउण्ड’मा हुनुपर्ने अरु संरचना सबै पूरा भइसकेपछि अन्तिममा विजुलीको तार भूमिगत गर्ने हो । तर त्यसो गरिएन् ।’ 

अचार्यले कतिपय ठाउँमा ढल नै नहाली बिजुलीको तार भूमिगत गर्ने काम भइसकेको उदाहरण दिँदै टेलिफोन, इन्टरनेट, खानेपानी, ढल, बिजुलीको समेत एकीकृत ढंगले गर्नुपर्ने काम छुट्टाछुट्टै गर्ने सरकारी संयन्त्रहरुको कार्यशैलीबाट काठमाडौंवासी आजित भइसकेको बताए । 

विद्युतको तार भूमिगत गर्ने प्राधिकरणको परियोजना २०७६ फागुन ५ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका थिए । पूर्वतयारी बिना नै परियोजना शिलान्यास गर्न र निर्माण सम्पन्न नभई उदघाटन गर्न उनी अरुभन्दा अगाडि मानिन्छन् । एशियाली विकास बैंकको ऋण लिएर सुरु गरिएको पहिलो चरणको कामको जिम्मा भारतीय निर्माण कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई दिइएको छ ।

क्षति भएको सडक १० दिनभित्रमा मर्मत गरी पूर्ववत बनाउने प्रतिवद्धता उक्त कम्पनीले जनाए पनि महिनौसम्म सडक तथा पैदलमार्ग भत्काएर अलपत्र बनाउने काम हुँदै आएको छ । यसले गर्दा पैदलयात्रुदेखि सवारी आवागमनमा समेत असर पुग्दै आएको छ भने धुलो र हिलोका कारण मानस स्वास्थ्यमा समेत असर पर्दै आएको छ । 

Advertisement

Advertisement