नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल-१ र जुगल-२ हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल–१ हिमाल (६,५९१ मि) र जुगल (६,५१८ मि) अग्लो हिमालको आरोहण गर्ने भएको छ । 

चैत २४ गते शनिबारबाट जुगल–१ हिमाल (६,५९१ मि) र जुगल–२ (६,५१८ मि) को पहिलो आरोहणका नेपाल र दक्षिण कोरियाको संयुक्त टोली त्यसतर्फ प्रस्थान गर्न लागेको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । 

Advertisement

यी दुवै हिमाल नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) बैठकले आरोहणका लागि खुल्ला गरेको हो । उक्त आरोहणले नेपाल र मित्र राष्ट्र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको हो । 

यस आरोहण दलमा तिन जना नेपाली र सात जना दक्षिण कोरियाली आरोहीहरु सहभागी हुन छन् । यस आरोहण दलको नेतृत्व दक्षिण कोरियाकोतर्फबाट विश्व विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अम होड गिलले गर्ने छन् भने नेपालकोतर्फबाट विश्व कीर्तिमानी आरोही एवम् नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष दावा याजुम शेर्पाले गर्ने छिन् ।

टोलीले चैत २५ गते आरोहणका लागि प्रस्थान गरी २०८१ साल वैशाख १३ गते सफल आरोहण गरी काठमाडौं फर्कने अपेक्षा गरिएको आयोजक जनाएको छ । यस आरोहण संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, जुगल गाउँपालिका, कोरिया अल्पाइन फेडेरेशन र दक्षिण कोरियाकै अम होङ गिल ह्युमन फाउण्डेशनले संयुक्त रुपमा आयोजना गर्नेछ ।

आरोहण दललाई चैत २४ गते शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी आरोहणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यस आरोहण दलमा सहभागी हुने मध्ये सात जना दक्षिण कोरियाली र तीन जना नेपाली आरोहीहरुको सलामी दस्तुर नेपाल सरकारले मिनाहा गरेको छ । 

प्रधानमन्त्री पुष्प कमल दाहालले आरोहीहरुलाई दुई देशको (नेपाल र कोरिया) राष्ट्रिय झण्डा हस्तान्तरण गरेको भोलि पल्ट चैत २५ गतेका दिन हिमाल आरोहणका लागि प्रस्थान गर्ने छन् । हिमाल आरोहणको समयमा ५० जना कोरियाली पदयात्रीहरु जुगल हिमाल उक्त क्षेत्र तथा नेपालका अन्य क्षेत्रहरुमा पदयात्रामा जाने भएकोले यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ । यस आरोहण अभियानको छायाङ्कन गर्ने उद्देश्यले कोरियाली राष्ट्रिय टेलिभिजनका प्रतिनिधिहरु आउने र कोरियामा प्रसारण समेत हुने आयोजकले जानकारी दिए । 

उक्त हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएपछि वैशाख १६ गतेका दिन नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल पर्यटन बोर्ड र कोरियाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गर्ने छ । सोही दिन उक्त आरोहण टोलीलाई सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम समेत रहेको छ ।

Advertisement

Advertisement