राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री पुन

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् ।

लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको बताए । मन्त्रिपरिषद् बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Advertisement

लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो । उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे ।

‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन,' मन्त्री पुनले भने, ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन । प्रतिपक्षको पनि हो र यो नेपालको हो ।

सम्मेलनको उद्‍घाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौं ।’ मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट गरे ।

‘सरकारमा अनुहार फेरिने गरेको छ । तर, नीतिगत निरन्तरता छ,' पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । सिमेन्टमा आत्मनिर्भर मात्र भएका छैनौं निर्यात हुन थालेको छ ।’

मन्त्री पुनले पहिलो र दोस्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेस्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए । पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलो संख्यामा वैदेशिक लगानी भित्रिने उनको विश्वास थियो ।

‘पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा हो’, उनले भने, ‘सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर गर्दैन । वाद र विचार धाराभन्दा अहिले मानिसले बजार र नाफा हेरेर लगानी गर्ने अवस्था छ ।’

वैदेशिक लगानी आकर्षित गर्ने मात्र नभई सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने तथा उनीहरूको मनोबल उठाउने काम गरिरहेको मन्त्री पुनले उल्लेख गरे ।

Advertisement