काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख १८) अन्तिम दिन हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ भोलि (वैशाख १९) देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारणसभा बोलाएको छ ।
सभा वैशाख ३१ गते, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।
सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ ।
त्यस्तै, दुवै आवको वार्षिक प्रतिवेदन वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्ने एजेन्डा रहेको छ ।