एनबीआईले विपद् जोखिम न्यूनीकरणमा उल्लेखनीय योगदान गर्ने व्यवसायलाई सम्मान गर्ने

Advertisement

काठमाडौं । नेपालमा जिम्मेवार व्यवसायका लागि अभियान सञ्चालन गर्दै आएको व्यवसायीहरुको संस्था राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम आयोजना गर्ने भएको छ । 

यस्तो कार्यक्रम आउँदो जेठ २३ गते आयोजना हुन लागेको एनबीआईले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि यो एउटा बृहत कार्यक्रम भएको बताए ।

Advertisement

व्यवसायिक क्षेत्रका लागि पूर्वतयारी, दिगोरुपमा व्यवसाय गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई प्रोत्साहन गर्ने उनको भनाई छ । जोशीले भने, ‘कहिले भूकम्प, कहिले नाकावन्दी, कहिले कोरोना महामारी, कहिले आर्थिक मन्दीलाई हेदै जाँदा नेपालमा व्यवसायिक निरन्तरता कसरी हुनसक्छ ? भूइँचालो जहिले पनि जानसक्छ । यस्ता कुरामा जबसम्म व्यवसायी सक्षम र पूर्वतयार रहनसक्दैनन्, तबसम्म व्यवसायिक विकास हुनसक्दैन् ।’  

एनवीआईले दुई खण्डमा गर्न लागेको यस कार्यक्रममा ठूला, मझौला र साना उद्योगलाई पुरस्कृत गरिनुका साथै अन्तरक्रियासमेत गरिने छ । उत्थानशील अर्थतन्त्र निर्माणमा विपद व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसय निरन्तरतामा निजी क्षेत्रको बढ्दो भूमिका बारेमा हुने अन्तरक्रियामा एशियाका विभिन्न मुलुकबाट विपद व्यवस्थापन विज्ञ र नेपाली विज्ञ सहभागी हुने जोशीले जानकारी दिए । 

त्यस्तै, अवार्ड (पुरस्कार) आठ वटा विधामा प्रदान गरिने छ । अवार्ड वितरणका लागि एनवीआईका पूर्वअध्यक्ष पद्य ज्योतिको संयोजकत्वमा विपद विज्ञ बालानन्द शर्मा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक विनोदकृष्ण श्रेष्ठ, अनिल पोखरेल आदि रहेको निर्णायक मण्डल (जुरी) बनाइएको छ । जुरीले प्रश्नावली बनाएर त्यसमा आएका उत्तरका आधारमा विश्लेषण गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनीय योगदान गर्ने उद्योगहरुलाई पुरस्कृत गर्न छनौट गर्नेछ ।

उद्योग मन्त्रालय र सम्वन्धित् निकायहरुको समेत सहभागिता रहने कार्यक्रममा देशभरीका उद्योग व्यवसायलाई सहभागिताका लागि पहल भइरहेको बताउँदै अध्यक्ष जोशीले जेठ २३ को कार्यक्रममा तीन सयभन्दा बढीको सहभागिता रहने बताए । उनले व्यवसायिक वातावरण विकास, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, संस्थागत सामाजिक उत्तरदायित्व प्रवद्र्धन, आधुनिक दासत्व निवारणका क्षेत्रमा एनवीआई क्रियाशील रहँदै आएको छ । 

अध्यक्ष जोशीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सरकारी निकाय र अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा उपलब्धीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै नेपाल विपद्का दृष्टिबाट जोखिमयुक्त क्षेत्र भएकोले यसरी सिर्जना हुने विपदलाई व्यवसायिक रणनीति र सञ्चालन प्रक्रियाको अभिन्न अंगको रुपमा ग्रहण गर्न सकेमात्र व्यवसाय सम्भव हुने र यसबाट समाज र मुलुकले पनि लाभ लिनसक्ने बताए । 

Advertisement

Advertisement