काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
सोही कारण अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै, बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागको पूर्वानुमान छ।