काठमाडौँ महानगरले जित्यो उपत्यकाव्यापी मेयर कप फुटबलको उपाधि

Advertisement

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । 

गोदावरी नगरपालिका वडा नं १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा शनिबार चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २–१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपियाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ । 

Advertisement

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गरे । खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गरे ।  

प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरेको थियो । टीममा सुदीप गिरी (किपर), असीम गुरुङ्, सरोज तामाङ्, आदिल हामिद, अनिल खड्का, एरिक विष्ट, राज पौडेल, दिपेश श्रेष्ठ, अखिलेश कार्की र राजीव लोप्चन पहिलो १२ खेलाडीका रुपमा खेल्नुभएको टीम व्यवस्थापक चित्रकारले जानकारी दिए ।  

फाइनल खेलको प्रतिस्पर्धा अवलोकन गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहित पदाधिकारी गोदावरी पुगेका थिए । खेलमा आफ्नो टीम विजेता भएपछि महानगरपालिकाको पहिचानमा खेल विधा थपिएको प्रतिक्रिया दिनुभयो । खेलको विकासका लागि खेलाडीहरुलाई प्रोत्साह गरिने, खेलको पूर्वाधार निर्माण गरिने उनको भनाइ थियो । 

महानगरपालिकाले वैशाख २० गते बुढानीलकण्ठ नगरपालिकाको टीमसँग पहिलो खेल खेलेको थियो । खेलमा ४—३ अन्तरले महानगरपालिका क्वाटर फाइनल खेलमा प्रवेश गर्यो । खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट निर्णय गरिएको थियो । पेनाल्टीमा सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गरेका थिए ।  

क्वाटर फाइनल खेल गोदावरी वी टीमसँग खेलेको थियो । यस खेलमा २–१ अन्तरले महानगरपालिकाको टीम सेमीफाइनल चरणमा प्रवेश ग¥यो । यस खेलमा महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गरेका थिए ।  

मध्यपुर थिमी नगरपालिकाको टीमसँग भएको सेमी फाइनल खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गर्‍यो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गरेका थिए ।  

यस्तै चन्द्रागिरी नगरपालिकाले वागमती गाउँपालिका, नागार्जुन नगरपालिका र महालक्ष्मी नागार्जुन नगरपालिकाको टीमलाई पछि पार्दैै फाइनलमा प्रवेश गरेको थियो । 

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएका थिए । यस्तै ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता थियो । 

Advertisement

Advertisement