ताजसँग चौधरी समूहको नयाँ साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात

Advertisement

काठमाडौं । चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाइ दिन भन्दै विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । 

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा एक कार्यक्रमबीच ताजसँगको साझेदारीमा हस्ताक्षर गरेका हुन् । ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन्भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको छ ।

Advertisement

ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको जनाइएको छ । 

‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ । हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला ठूला कम्पनीसँग मिलेर
नेपालको बृहत आर्थिक गतिविधिमा केन्द्रीत हुँदै आएको छ जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुने चौधरी समूहले जनाएको छ । 

केहि समय अघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहारमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आइएको भन्दै चौधरी समूहका राहुल चौधरीले भनेका छन्, ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौं । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्राउनेछौं । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेहाम्रो विश्वास छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भन्नुभयो, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’

विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीले बताएका छन् । उनले थप भनेका छन्, ‘नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापीरुपमै राम्रो सन्देश जानेछ । हामी यो समूहसँग मिलेर काम गर्दैछौं । यसको फाइदा नेपाल र नेपालीलाई पुग्ने हाम्रो विश्वास छ ।’

चौधरी ग्रुपले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ । 

Advertisement

Advertisement