नेपालीलाई बेचिने नुनमा प्लाष्टिकका सुक्ष्म कर्णको मात्रा उच्च रहेको अध्ययनले देखायो

Advertisement

काठमाडौं । नेपालीहरुले खानाको माध्यमबाट प्लाष्टिका सुक्ष्म कर्णहरु (माइक्रोप्लाष्टिक) पनि खाइरहेको अनुसन्धानले देखाएको छ । बीबीसी नेपालीका अनुसार यस्ता माइक्रोप्लास्टिकले स्वास्थ्यमा गम्भीर असर गर्नसक्ने पनि अध्ययनले देखाएको छ । 

बोतल तथा जारमा राखिएका पानी तथा पेय पदार्थमा प्रयोगबाट अधिक माइक्रोप्लास्टिक सेवन गरिरहेको अनुमान गरिए पनि त्यसबारे अहिलेसम्म विस्तृत अध्ययन भने भएको छैन । बीबीसीले हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुनसक्ने देखाएको औंल्याएको छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले माइक्रोप्लास्टिकको सेवन वा श्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेशले स्वास्थ्यमा पार्ने असरबारे थप अध्ययन आवश्यक रहेको जनाउँदै आएको छ । तर सरकारी स्तरबाट नेपालमा माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने असरबारे कुनै अध्ययन भएको छैन । 

नेपालमा प्रयोग भइरहेका नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला परेको छ । माइक्रोप्लास्टिकले नेपालीको स्वास्थ्यमा पारेको असरबारे हालसम्म खासै अध्ययन नभए पनि त्यसको पर्यावरणीय प्रभावबारे केही अध्ययनहरू भएको र नेपालका हिमाल, नदीनाला र तालमा प्लास्टिकका सूक्ष्मकण बढिरहेको देखिएको  अध्ययनले देखाएको छ । 

त्रिचन्द्र क्याम्पसको वातावरण विज्ञान विभागका उपप्राध्यापक किशोरकुमार महर्जन र वातावरणविज्ञ रामप्रसाद ढुङ्गेलले नुनमा माइक्रोप्लास्टिकको अवस्थाबारे अध्ययन गर्दै नेपालमा बिक्री हुने प्याकेटका नुनमा उच्च मात्रामा माइक्रोप्लास्टिक पाइएको देखाएको छ । यससम्वन्धमा अन्तर्राष्ट्रिय जर्नल ‘हेलियन’ जर्नलमा शोधपत्र पनि प्रकाशित भएको छ ।

महर्जन र ढुङ्गेलको टोलीले नेपालमा बिक्री भइरहेका पाँच कम्पनीका नुनको देशका विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर परीक्षण गरेको जनाइएको छ । ती नमुनामा प्रतिकिलो ८० देखि १,०४० सम्म माइक्रोप्लास्टिक पाइएको थियो ।

भण्डारणको अवस्था, प्याकेजिङ गरिएको मिति, प्रयोग गरिएको प्लास्टिकको मोटाइजस्ता विभिन्न कारणले माइक्रोप्लास्टिक नुनमा मिसिएको नदेखिए पनि उत्पादन प्रक्रियाको मुख्य भूमिका रहेको हुन सक्ने अनुसन्धानले देखाएको हो । एक नेपालीले नुनका माध्यमबाट प्रतिवर्ष प्लास्टिकका झन्डै १,८५३ वटा सूक्ष्मकण सेवन गरिरहेको पाइएको छ । डब्ल्यूएचओले दैनिक पाँच ग्रामभन्दा कम नुन सेवन गर्नुपर्ने सिफारिस गरे पनि नेपालीहरूले औसतमा झन्डै दोबर नुन खान्छन् । 

Advertisement

Advertisement