दाइ पद्य ज्योतिले विवेक गुमाए, कानुनको अस्त्र देखाएर दुःख दिएः डा. रुप ज्योति

Advertisement

काठमाडौं । नेपालको पूरानो र प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहको पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । भाई डा. रुप ज्योतिले सञ्चालन गर्दै आएको कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल खाली गर्न दाई पद्य ज्योतिले दबाब दिएपछि विवाद छताछुल्ल भएको हो ।, 

डा. रुप ज्योतिले दाई पद्य ज्योतिले विवेक गुमाउँदै गएको भन्दै कानुनको अस्त्र देखाएर आफूलाई अनावश्यक दुःख दिँदै आएको बताएका छन् । डा. रुप ज्योतिले दाईको अंशमा समेत केही भाग परेको ग्राण्डी सिटी अस्पताल रहेको भवनको भाडा आफूले बुझाउँदै आए पनि दाईले सो भाडा स्वीकार नगरेको र जबरजस्ती अस्पतालमा रहेका सुत्केरी महिला र बच्चाहरुलाई निकालेर भवन खाली गराउन दबाब दिएको बताएका छन् । 

Advertisement

यसअघि दाईकै सहमतिमा आफूले सो भवनमा अस्पताल सञ्चालन गरेको र २० करोड रुपियाँभन्दा बढीको उपकरणहरु जडान गरेको तर पारिवारिक विवाद बढ्न थालेपछि दुःख दिनलाई मुद्दामामिला गर्ने, प्रहरी लगाएर अस्पतालका बिरामी र आफ्नो परिवारलाई अनावश्यक तनाब दिने, नभएको प्रचार गर्ने काम गरेको रुप ज्योतिको गुनासो छ । 

यता पद्य ज्याति समूहले विवाद सार्वजनिक भएसँगै आज सार्वजनिक सञ्चार माध्यमहरुमा विज्ञप्ति प्रकाशित गरेर आफूहरुले काठमाडौं महानगरपालिकाको न्यायिक समितिदेखि सर्वोच्च अदालतबाट समेत मुद्दा जितेको, भवन खाली गराउन यसअघि नै पटक पटक जानकारी गराउँदा पनि खाली नगराएको दावी गरेको छ । 

डा. रुप ज्योतिले भने दाई यस्तो विवेकहीन होलान भन्ने आफूले कहिले नसोचेको बताउँदै भाडा दिएर दाईको अंशमा परेको भवनको हिस्सा उनकै सहमतिमा प्रयोग गर्दा अहिले आएर गलत प्रचार गर्नु र परिवारिक विवादलाई बाहिर ल्याउने परिस्थिति सिर्जना गर्नु राम्रो नभएको बताए । विशेषगरी पद्य ज्योतिका छोराहरु सौरभ ज्योति र सुह्द ज्याति झगडाको मुख्य जड मानिन्छ । 

डा. रुप ज्योतिले स्थापित गरेको हिरो होण्डाको ब्यापार सो कम्पनी टुक्रिएपछि होण्डा पद्य ज्योतिका छोराहरुले हेर्न थालेको र हिरो रुप ज्योतिका छोराले हेर्न थालेको, पारिवारिक सहमतिअनुसार होण्डाको मुनाफा पद्य ज्योति, रुप ज्योति र बहिनी कमला ज्योतिलाई बराबर भागण्डा गर्नुपर्नेमा सौरभले अस्वीकार गर्न थालेपछि विवाद सुरु भएको रुप ज्योति समूहको भनाई छ । 

नेपालको दुई पांग्रेको बजारमा होण्डाको व्यापार राम्रो छ जसको पूर्वाधार रुप ज्योतिले नै तयार गरेका थिए । तर हिरो उत्पादन गर्ने भारतीय कम्पनी हिरो मोटोकर्पले आफ्ना उत्पादनलाई खासै स्तरोन्नती गर्न नसक्दा उसको व्यापार भने अपेक्षाकृत हुन सकेको थिएन । यद्यपि हिरोमा आँखा लगाउँदै आएको अर्को चौधरी समूह (विनोद चौधरी)ले उक्त ब्राण्डको डिलरसिप अहिले ज्योति समूहबाट हत्याउन सफल भइसकेका छन् । 

स्वर्गीय बाबु मर्णिहर्ष ज्योतिले गरिदिएको अंशबण्डा र मुनाफाको तजबिजअनुसार पद्य ज्योति चल्न नखोजेपछि ज्योति समूहमा विवाद बढ्न थालेको थियो । पद्य ज्योति समूहको व्यवहारबाट रुष्ट भएकी आमा र बहिनीले समेत डा. रुप ज्योति र आफूहरुलाई अन्याय गरेको भन्दै पद्य ज्योतिलाई साथ नदिएर रुप ज्योतिलाई साथ दिँदै आएका थिए । आफूलाई मात्रै नभएर आमा र बहिनीलाई समेत पद्य ज्योति पक्षले अन्याय गरेको रुप ज्योति समूहको आरोप छ । 

त्यसैको उत्कर्षको रुपमा अहिले अस्पतालको भवनको विवाद सिर्जना भएको छ । कानुनीरुपमा हेर्दा यो विवादमा पद्य ज्योति माथि देखिए पनि पारिवारिक घट्नाक्रम हेर्दा पद्य ज्योति समूहको प्रतिशोध र अन्याय देखिन्छ । डा. रुप ज्योति भन्छन्, ‘अस्पताल रहेको भवनको अंश दाईको हो । त्यो मैले खाली गर्नुपर्छ ढिलो चाँडो । तर मैले दाईकै सहमतिमा सो खण्ड प्रयोग गरेको हो । उपकरणहरु पनि थप्न काम दाईलाई नै सोधेर गरेको हो । दाईले विवेक गुमाएर एक्कासी भवन खाली गराउन दबाब देलान भन्ने सोचेको थिइन् । अर्को कुरा अस्पताल भएपछि बिरामी आउँछन् । सुत्केरीहरु आउँदा यहाँ नआउ, अन्त जाउ भन्न सकिन्न । अस्पताल खोजेर बसेपछि बिरामी लिन्न भन्न पनि मिल्दैन । कोही बच्चाहरु आईसीयूमा छन् ।’ 

आफूलाई पक्षको पक्षले भवन खाली नगर्न बच्च किनेर ल्याएको भनेर गम्भीर आरोप लगाएको पनि डा. ज्योतिले गुनासो गरे । ‘म एउटा धार्मिक मानिस हो । अधर्म र अन्याय कसैलाई गर्न हुन्न भन्ने मान्यताको मानिस हो, आफै कुभलो चिनाउने र आफै बच्चा किनेर ल्यायो भनेर भन्न मिल्छ र ?’ भन्दै उनले प्रश्न गरे । ज्योतिले बच्चा देखाएर दाईको भागमा परेको भवनमा बस्ने रहर नरहेको तर भवनमा रहेका बिरामी र उपकरणहरुको वैकल्पिक व्यवस्थापन नहुँदासम्म करिव एक बर्षको लागि समय दिन आग्रह गर्दा दाईको पक्षको जबरजस्ती गर्न खाजेको गुनासो गरे । 

Advertisement

Advertisement