एडीबी भन्छ- झन यो बर्ष विकास निर्माण सुस्त भयो

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास निर्माण यो बर्ष सुस्त भएको जनाएको छ । संविधान जारी भएपछि निर्वाचन भएर दुईतिहाई बहुमतको सरकार बनेकोले विकासले निकै गति लिने अपेक्षा गरेको बेला एडीबीले निराशाजनक स्थिति बाहिर ल्याएको हो ।

एडीबीले सार्वजनिक गरेको ‘नेपाल पोर्टफोलियो पर्फमेन्स–२०१८’मा एडीबीको लगानीमा सञ्चालित परियोजनाको प्रगति निकै सुस्त रहेको जनाएको हो । सरकारी निकायको ढिलासुस्ती, समन्वयको अभाव, आयोजना प्रमुखको गैरजिम्मेवारीपन जस्ता कुराले गर्दा आफ्नो लगानीमा निर्माण गर्ने भनिएका आयोजनाहरु सुस्त बन्न पुगेको जनाएको हो ।

विभिन्न परियोजनाको ठेक्का सम्झौता तथा सोधभर्ना भुक्तानीमा देखिएको ढिलाईले ठूला परियोजनाले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल रहेको भन्दै उसले ठेक्का सम्झौतातर्फ यो वर्ष (सन् २०१८)को लक्ष्यमा जम्मा ३८ प्रतिशतमात्र प्रगति भएको उल्लेख गरेको छ ।

एडीबीले यो वर्ष विभिन्न परियोजनामा ४४ करोड सात लाख अमेरिकी डलर ठेक्का सम्झौता गर्ने लक्ष्य राखे पनि अक्टोबरको अन्त्यसम्म जम्मा १७ करोड एक लाख डलर बराबरको परियोजनामा मात्र ठेक्का सम्झौता भएको जनाएको छ ।

सोधभर्ना भुक्तानीतर्फ पनि वार्षिक लक्ष्यको तुलनामा ५५ प्रतिशतमात्र प्रगति भएको छ । यो वर्ष ३३ करोड आठ लाख अमेरिकी डलर सोधभर्ना भुक्तानी गर्ने लक्ष्य रहेकोमा हालसम्म १८ करोड पाँच लाख डलरमात्र सोधभर्ना भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ।

सरकारले सुस्त कार्यशैली र कमजोर प्रगतिमा सुधार नगरे नेपाललाई दिँदै आएको विकास सहायता प्रभावित हुनसक्ने उसले चेतावनी दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement