Advertisement

विश्व कीर्तिमानी पर्वतारोही तथा हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) कामिरिता शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका छन् । उनले यसअघि धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको रुपमा आफूले बनाएको रेकर्ड तोड्दै २८ पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाएका छन् । खुम्बु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न नेतृत्व गरेका थिए । उनले सेभेन समिट ट्रेक्सको टिमलाई नेतृत्व गर्दै सगरमाथाको ओरोहण गरेका हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका शेर्पाको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत पनि रहेको छ । उनै कामिरिता शेर्पासँग कर्पोरेट नेपालका फुर्पा शेर्पाले गरेको कुराकानीको अंशः

तपाईंले सगरमाथाको २८औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गर्नु भएको छ । कस्तो महशुस गरिरहनु भएको छ ?
मैले यही सिजनमा दुई पटक सगरमाथाको आरोहण गरी २८औं पटक आरोहण गरेको कुरामा प्रतिस्पर्धा गर्न लाग्यो भन्ने कुराहरु पनि आइरहेको थियो । तर मैले प्रतिस्पर्धा गर्नको लागि होइन् । मैले २०१९ देखि वर्षपछि दुई पटक सगरमाथाको आरोहण गर्ने मौका मिलिरहेको छ । म अहिले सेभेन समिट ट्रेक्स कम्पनीबाट हिमाल आरोहणमा गाइड गरिरहेको छु । त्यसमा चाहिं सेभेन समिट ट्रेक्स मात्र नभएर १४ पिकस, ग्लोअबल नेपाल गरी तीन वटा कम्पनीहरु छन् । मैले ती कम्पनीको टिमको नेतृत्व गर्नुपर्ने भएपछि मैले तीन पटकसम्म चुचुरोमा नगए पनि दुई पटकसम्म सगरमाथाको चुचुरोसम्म गाइड गर्नुपर्ने हुन्छ । यस सिजनमा पनि मैले मे १७ र मे २३ मा गरी सगरमाथाको दुई पटक चुम्ने मौका मिल्यो । २०२१ र २०२२ मा सगरमाथाको चुचुरोसम्मको रोप फिक्सिङ (डोरी टाँग्ने काम)को टिम लिडर थिए । यो पटक सगरमाथा दुई पटक आरोहण गरेर प्रतिस्पर्धा गरेको चाँहि होइन । आरोहीहरुले पनि मसँग आरोहण गर्दा उनीहरुमा आँट बड्ने र सत प्रतिशत सफलता हुन्छ भन्ने खालको सुनेको छु । अहिलेसम्म मैले नेतृत्व गरेर गएको हिमाल आरोहणमा अहिलेसम्म दुर्घटना भन्ने चाहिं कमै भएको छ । सत प्रतिशत सफलता मिलिरहेको छ । विदेशी आरोहीहरुले करोडौं रुपियाँ खर्च गरेर एउटा ठूलो सपना बोकेर नेपाल आउछन् । त्यो सपनालाई हामी गाइडहरुले राम्रोसँग उनीहरुको सपना सफल पारेन भने यसले पनि नेपालको पर्यटनमा पनि घाटा हुने हो ।

Advertisement

तपाईंले सगरमाथाको पहिलो पटक आरोहण कहिले गर्नु भएको थियो ?

१९९४ को मे १३ मा । 

सगरमाथा २८ औं पटक गर्दा र पहिलो पटक आरोहण गर्दामा के कस्तो फरक पाउनुभयो ?
पहिला सगरमाथाको काममा जान्दा काठमाडौं मै टे«किङ पसलहरु खासै थिएन् । पहिला पहिला हामीले दुःख, सुःख भए पनि सानो टेन्ट टाँगेर एउटा सानो डाइनिङ टाँगेर डिनर गथ्र्यौं । अहिले काठमाडौंको पाँचतारे होटल भन्दा बढी सुविधा उपलब्ध दिइरहेको छ आधार शिविरमा । आधार शिविरमा धेरै परिवर्तन गरिएको छ । आधार शिविरमा अहिले डोप टेन लगाएर त्यो भित्र पनि बाक्लो म्याट्रेक्स राखेर, त्यो मात्र नभएर कुनै विदेशी भीआईपी पर्यटकहरुलाई टेन्टभित्रै खाट... यी कुराहरुको धेरै परिवर्तन आएको छ । आठ हजार मिटर अग्लो १४ वटा हिमालहरु आरोहण गर्ने अहिले आरोहीहरुको संख्या बढेपछि जुनसुकै हिमाल, नेपालको मात्र नभएर अन्य देशका हिमालहरुमा पनि आरोहण गर्ने चाप बढेको जस्तो लाग्छ । यस वर्ष रोयल्टी अहिलेसम्मकै उच्च संकलन भएको छ । सरकारले रोयल्टी मात्र लिएर भएन् । सगरमाथाको सरसफाइमा पनि राम्रो ध्यान दिनुपर्यो । क्याम्प–३ र क्याम्प–४ को सरसफाइमा पनि ध्यान दिनुपर्छ । अहिले नेपाली सेनालाई हिमाल सरसफाइको जिम्मा दिएको छ । यसो गरेको दुई वर्ष भयो । सगरमाथाको क्याम्प–२ भन्दा माथि सरसफाइ गरेको छैन् । 

तपाईं अब कुन हिमाल आरोहण गर्ने योजनामा हुनुहुन्छ ? 
तान्जानियामा अवस्थित अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको अबको अगस्ट महिनामा आरोहण गर्ने योजना छ । मेरो क्लाइटहरु पनि तयार छ । 

तपाईंले सगरमाथाको २८ औं पटक सफल आरोहण गरिसक्नु भयो । अझै कति पटकसम्म सगरमाथाको आरोहण गर्ने योजना छ ? 
अब फेरि सगरमाथा यति पटक आरोहण गर्छु भन्ने खालको याजना बनाएको छैन् । साथीभाई आफन्तहरुले भने कम्तिमा पनि ३० पटक आरोहण गर्नुपर्छ भन्ने खालको कुराहरु गरिरहेको छ । सके भन्ने ३० औं पटकसम्म आरोहण गर्ने छु, भगवानले र स्वास्थ्यले साथ दियो भने । 

सरकारको तर्फबाट केही सहयोग पाउनु भएको छ, ?
सरकारले तेन्जिङ नोर्गे शेर्पाको लागि केही गरेको छैन्् । नेपालमा म मात्र नभएर विश्व कीर्तिमान राखेकाहरुलाई पनि केही गरेको छैन् । हामीले जति पनि हाम्रो गुनासोहरु पोखे पनि ६–६ महिनामा पर्यटनमन्त्री परिवर्तन हुन्छ । के गर्नु ? नेपाल सरकारले आरोहीहरुलाई जोगाएन भने अबको ५–१० वर्षपछि नेपालमा शेर्पा नदेख्ला जस्तो लाग्छ । हिमाल हुन्छ तर त्यसमा आरोहण गराउने गाइडहरु नपाउला । गएको वर्ष र यस वर्षमा हेर्ने हो भने करिब ५० देखि ६० जना गाइडहरु विदेशिएका छन् । अझै विदेशिने क्रममा छ । नेपालमा भविष्य नभएर, वास्ता नगरेर माउन्टेन गाइडहरु विदेशिनुपरेको छ । यस्तै भइराखेमा भोलिको दिनमा गाइडहरु पाउन गाह्रो हुन्छ । यही सिजनमा खुम्बु आइसफलमा परि तीन जना शेर्पाहरुको मृत्यु भयो । उनीहरुको बीमा १५ लाखले के पुग्छ परिवारलाई ? कम्पनीले दिएको बीमा मात्र नभएर सरकारले पनि थपेर ५० लाखको बीमा गरिनु पर्छ । सरकारले हामी माउन्टेन गाइडहरु जो, ६० वर्ष नाघेर बसेकाहरुलाई पेन्सनको व्यवस्थापन गर्नुपर्यो । यतिको रोयल्टी संकलन भएको छ । त्यसको १०-१५ प्रतिशत दिँदा के हुन्छ त ? आरोहीहरुको नाममा नेपाल माउन्टेन एकेडेमी संचालनमा ल्याएको छ । त्यसमा आरोहीको बालबालिकाहरुको लागि केही पनि छैन् । 

Advertisement

Advertisement