काठमाडौं । भारतले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई सय भारु घटाएको छ । नेपालमा नेपाल आयल निगमले २३५ रुपियाँले ग्यासको मूल्य बढाउँदा भारतले भने भारी मात्रामा मूल्य घटाएको हो ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले मन्त्रिपरिषदको बुधबारको बैठकले ग्यासको मूल्य घटाउने निर्णय गरेको जानकारी दिए ।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णयले ग्यासबाट खाना पकाउने भारतका ३३ करोडभन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।
स्वचालित मूल्य प्रणाली लागू गरेको जनाउँदै आएको नेपाल आयल निगमले भने उपभोक्तालाई चर्को मार पर्नेगरी किन एकै पटक यति ठूलो मूल्यवृद्धि गरेको भन्नेबारे सबै मौन छन् । यदि विद्युत खपत बढाउन यस्तो निर्णय गरिएको हो भने पनि विद्युतको नियमित आपूर्ति, गुणस्तर, विद्युतीय सामग्रीहरुको सहज र गुणस्तरीय उपलब्धताको सुनिश्चितता गरिएको छैन् ।