बढ्यो वैदशिक रोजगारीमा ठगी धन्दा, आफन्त नै बिचौलिया

Advertisement

काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । 

म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने एक सय ६ जना ठगिएका छन् । ठगिएकाहरूले मोेरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन् । जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । 

चालू आवको माघ मसान्तसम्म ठगीसम्बन्धी १०६ वटा मुद्दा प्राप्त भएको आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले बताए । उनका अनुसार १७ वटा मुद्दा समाधान भएका र त्यसबाट एक करोड १३ लाख ४३ हजार रुपियाँ रकम प्राप्त भएको बताए । 

वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क परामर्श, आवश्यक कानूनी सहायता र सीपमुलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । यद्यपि, आफन्त तथा विचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन् । 

आप्रवासी केन्द्रका परामर्शदाता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरूलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताए । साथै, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई केन्द्रले निःशुल्क सीप तालिम दिने गरेको उनको भनाइ छ । 

अघिल्ला वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए । तर, पछिल्लो समय युरोपियन मुलुकहरूमा पठाउनेबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको आप्रवासी केन्द्रले जनाएको छ । यता, मोरङ प्रशासनले भने मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियाका साथै पछिल्लो समय क्यानाडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको जनाएको छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै युवापुस्ता ठगिएको बताए । अहिले अस्टे«लिया, जापान पठाइदिन्छु भनेर उतै बसेका मानिसले नेपालमा एजेन्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको उनको भनाइ छ । 

वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यताप्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । 

Advertisement

Advertisement