पहिलो टी२० खेलमा रोहितको शतकसहित नेपालको जित

Advertisement

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराउन सफल भएको छ ।

कुल २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । कप्तान रोहितले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाए । 

Advertisement

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन आवश्यक हुँदा खेलको नजितामा चिन्ता बढेको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक–एक रन दिएका थिए भने तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । अर्को बलमा उनले अर्को चौका थप्दै नेपाललाई जित दिलाएका थिए । 

आजको खेलमा ओपनर अनिल शाह ५ रनमा, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी २० खेल आइतबार हुनेछ ।

Advertisement