मर्ज भएका बैंकमा धेरै निष्क्रिय कर्जा, कर्जा व्यवस्थापमा अब्बल मानिने स्टाण्डर्ड चार्टर्ड र एसबिआईमै पनि समस्या

बैंकहरुमा चुनौतिपूर्ण ढंगले बढ्दै निष्क्रिय कर्जा अनुपात, एभरेष्ट बैंकमा भने सबैभन्दा कम

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्ममा बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढेर औसतमा ३.६५ प्रतिशत पुगेको छ । 

उनीहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले खराब कर्जाको आकार चुनौतिपूर्ण ढंगले बढ्दै गएको देखाएको हो । गत आवको अवधिमा यस्तो निष्क्रिय कर्जा अनुपात औसतमा २.९९ प्रतिशत थियो । 

Advertisement

हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । 
समीक्षा अवधीमा सबैभन्दा धेरै निष्क्रिय कर्जा अनुपात लक्ष्मी सनराइज बैंकमा देखिएको छ । तथ्यांकअनुसार उक्त बैंकमा ५.४९ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधीमा उक्त बैंकमा १.८२ प्रतिशत मात्रै यस्तो कर्जा थियो । 

विशेषगरि, लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज हुँदा निष्क्रिय कर्जा अनुपात बढेको बताइन्छ । तत्कालिन सनराइज बैंकको कर्जा प्रवाह त्यति राम्रो थिएन् ।  

धेरै निष्क्रिय कर्जा हुनेमा दोस्रो नम्बरमा हिमालयन बैंक छ । उक्त बैंकमा ४.९६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यो बैंकले पनि सिभिल बैंकलाई प्राप्ती गरेको थियो । सोही कारण यस्तो अनुपात बढेको बताइन्छ । गत आवको चैत मसान्तसम्म उक्त बैंकमा ४.५६ प्रतिशत निष्क्रिय कर्जा थियो । 


धेरै निष्क्रिय कर्जा हुनेमा तेस्रो स्थानमा कुमारी बैंक देखिएको छ । उक्त बैंकमा ४.९५ प्रतिशतको अनुपातमा यस्तो कर्जा रहेको छ । गत आवको सोही अवधीमा कुमारी बैंकमा ३.९७ प्रतिशत निष्क्रिय कर्जा थियो । यो बैंकले पनि पछिल्लो पटक एनसीसी बैंकलाई प्राप्ती गरेको थियो । 

बैंकहरुमा निष्क्रिय कर्जा धेरै हुनु राम्रो होइन । यसले प्रत्यक्ष रुपमा बैंकको नाफालाई प्रभावित बनाउँछ । साथै, समग्र बैंकको वित्तीय अवस्थालाई पनि कम्जोर देखाउँछ । तर, बलियो बन्ने होडमा मर्ज भएकै बैंकहरुमा निष्क्रिय कर्जा अनुपात धेरै देखिएको छ ।  

यसपाली स्टान्डर्ड चार्टर्ड बैंकको समेत निष्क्रिय कर्जा बढेको छ । कर्जा व्यवस्थापनमा स्टान्डर्ड चार्टर्ड प्रायः सफल नै मानिन्छ । तर, यसपाली उक्त बैंकको निष्क्रिय कर्जा अनुपात २.१४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधीमा उक्त बैंकको यस्तो कर्जा अनुपात ०.९ प्रतिशत मात्रै थियो । तर, अहिले त्यो उच्च दरमा उच्च वृद्धि भएको छ । 

कर्जा व्यवस्थापनमा राम्रो मानिने अर्को बैंक नेपाल एसबीआईमा पनि निष्क्रिय कर्जा अनुपात बढेको छ । गत आवको समीक्षा अवधीमा उक्त बैंकमा ०.९७ प्रतिशत मात्रै निष्क्रिय कर्जा थियो । अहिले त्यो बढेर १.९८ प्रतिशत पुगेको छ । 

गत आवसम्म कर्जा व्यवस्थापनमा राम्रो देखिएको स्टान्डडर्ड र  एसबीआईले अहिले भने कम्जोर देखिएका छन् । यद्यपि, अन्य बैंकहरुको तुलनामा यी बैंकमा भएको निष्क्रिय कर्जा अनुपात कम हो । निष्क्रिय कर्जा कम हुनेमा एसबीआई तेस्रो र स्टाण्डर्ड चार्टर्ड चौथो स्थानमा छन् । 

निष्क्रिय कर्जा सबैभन्दा कम हुनेमा भने एभरेष्ट बैंक देखिएको छ । उक्त बैंकसँग अहिले ०.७ प्रतिशत मात्रै निष्क्रिय कर्जा छ । गत आवको सोही अवधीमा पनि एभरेष्ट बैंकमा ०.७ प्रतिशत नै निष्क्रिय कर्जा थियो । कर्जा व्यवस्थापनमा एभरेष्ट बैंक उत्कृष्ट देखिएको यो तथ्यांकले पुष्टी गरेको छ । 

कम निष्क्रिय कर्जा हुनेमा दोस्रो स्थानमा सानिमा बैंक रहेको छ । उक्त बैंकको यस्तो कर्जा अनुपात १.८९ प्रतिशत मात्रै रहेको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधीमा सानिमा बैंकमा २.२७ प्रतिशत निष्क्रिय कर्जा थियो । त्योअनुसार यस्तो कर्जा अनुपात उच्च मात्रामा घटाउन सानिमा बैंक पनि सफल देखिएको छ । 

किन बढिरहेको छ निष्क्रिय कर्जा ?
बिशेषगरि, पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण बैंकहरुका कर्जा असुली राम्रो हुन सकेको छैन । बैंकहरुमा यो समस्या गत आवदेखि नै बढ्दै गएको हो । 

सामान्यत औसत १ देखि २ प्रतिशतभित्र हुने बैंकहरुको निष्क्रिय कर्जा अहिले ३.६५ प्रतिशतसम्म पुगेको छ । केही बैंकको खराज कर्जा ५ प्रतिशतभन्दा माथि पुग्नु गम्भीर विषय हो । 

देशको आर्थिक विषमताको प्रभाव हरेक उद्योग व्यवसाय र मानिसहरुमा परेको छ । मानिसहरुको व्यापार व्यवसाय बिग्रिएको छ । उधारोमा दिएको सामानको पैसा उठ्न सकेको छैन् । सहकारीले बचतको पैसा दिएको छैन् । मानिसहरुको क्रयशक्ति कमजोर बन्दै गएको छ । उपभोग गर्ने ठूलो जनशक्ति देश छोडेर पलायन भएको छ । त्यसको असर अहिले बैंकिङ क्षेत्रले समेत सामना गर्नुपरेको छ । 

ऋणीहरुको ऋण तिर्ने क्षमता कम्जोर भएकोले समयमा किस्ता आउन नसकेको हो । समयमा सावाँ ब्याज आउन नसक्दा बैंकको आम्दानीका साथै खराब कजाको आकार समेत ह्वात्तै बढेर गएको बैकरहरुको भनायृ छ । अर्कोतर्फ सरकार निर्माण क्षेत्रको भुक्तानी पनि नगर्ने र पुँजीगत खर्च पनि लक्ष्यभन्दा निकै कम गर्नेृ, अन्य दायित्वहरु समेत भुक्तानी गर्न नसक्दा आर्थिक गतिविधि बढ्न सकेको छैन् । सरकारले भुक्तानी नदिएकै कारण निर्माण क्षेत्रसँग सम्वन्धित ऋण कर्जा अशुल हुन सकेको छैन् । 

यस्तै, कतिपय बैंकमा भने मर्जरका कारण पनि निष्क्रिय कर्जा बढेको छ । मर्जरमा गएका अधिकांश बैंकको अवस्था त्यति राम्रो देखिन्न । नगएकाहरुको भने अवस्था सन्तोषजनक छ । त्ससको उदाहरण बनेका छन् कुमारी, लक्ष्मी सनराइज र हिमालयन बैंक । राष्ट्र बैंकले कर्जा भुक्तानीमा सहजीकरण गर्ने नीति ल्याउँदा समेत निष्क्रियय कर्जा घट्न नसक्नु चिन्ताको विषय बनेको छ । 

कर्जा पुनःतालिकीकरण र पुनरसंरचना गर्ने नीति नल्याएको भए खराब कर्जा झन् बढेको हुन्थ्यो भन्दै बैंकहरुले बैंकहरुको खराव कर्जा बढ्दा नाफा पनि प्रभावित भएको बताउँछन् । धेरै बैंकहरु यस बर्ष मुनाफा वितरण गर्ननसक्ने अवस्थामा देखिएका छन् । 

समीक्षा अवधीमा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा ४७ अर्ब एक करोड ५२ लाख ९३ हजार रुपियाँ रहेको बैंकहरूको नाफा अहिले ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपियाँ सीमित भएको छ । निष्क्रिय कर्जाबापत ठुलो रकम प्रोभिजनिङ गर्नुपर्दा नाफा प्रभावित भएको बैंकहरुको भनाइ छ । 

यस्तै, पछिल्लो समय कर्जा प्रवाह पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंकहरुको आम्दानी प्रभावित भएको छ । यी यस्ता कारण पनि निष्क्रिय कर्जा बढ्ने र नाफा घट्ने समस्या देखिएको हो । 

पाँच बैंकले घटाए निष्क्रिय कर्जा 
आर्थिक शिथिलताका बीच पनि पाँच बैंकले निष्क्रिय कर्जा घटाएका छन् । सानिमा बैंकले २.२७ प्रतिशतबाट १.८९ प्रतिशतमा यस्तो कर्जा अनुपातलाई सीमित गरेको छ भने सिद्धार्थ बैंकले ३.९५ प्रतिशतबाट २.५२ प्रतिशतमा, एनएमबि बैंकले २.९६ प्रतिशतबाट २.८६ प्रतिशतमा, कृषि विकास बैंकले ४.२ प्रतिशतबाट ३.३ प्रतिशतमा र सिटिजन्स बैंकले ३.९८ प्रतिशतबाट ३.७६ प्रतिशतमा निष्क्रिय कर्जा अनुपात झारेका छन् । 

undefined
 

Advertisement