खोटाङमा वनको डढेलो गाउँसम्म फैलँदा तेह्र घर खरानी
प्रतीकात्मक तस्बिर ।

Advertisement

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार, भीरगाउँका मोहनलाल थापामगरका दुई घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुई गोठ, सुवास थापामगरको घर र मचान र मदन थापामगरको घर जलेको छ ।

Advertisement

यस्तै, डढेलोले डान्सिङटारका गंगामाया मगरका दुई घर र दुई मचान, ४० बाख्रा, आधा तोला सुन, नगद ५० हजार रुपैयाँलगायत सामग्री जलेको छ ।

यसैगरी, खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ ।

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छाघर र बाख्राखोर खरानी भएको जनाइएको छ ।

डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए ।

गएको साउनदेखि हालसम्म जिल्लामा १०९ आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार ६०० रुपैयाँबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement