कर्जाको घट्दो ब्याजदर र तरलता सहजताले आर्थिक गतिविधि बढ्ने आधार सिर्जनाः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् । 

शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका हुन् । 

Advertisement

करिव ६०० मेगावाट थप जलविद्युत उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उल्लेख गरे । गभर्नर अधिकारीले सरकारको पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक मागमा  शिथिल आएको दाबी गरे । 

खासगरी निर्माण, व्यापार र उत्पादनमुलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित देखिएको बताए । गभर्नर अधिकारीले रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम कायमै रहेको बताए । आर्थिक वर्ष २०८०÷८१ मा समयमै रोपाईं, मौसम अनुकूल र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको बताए । 

आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा हुँदा निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको बताए । उनले चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको बताए । फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पती कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ र सुरक्षित अवस्थामा रहेको दाबी गरे । 

गभर्नर अधिकारीले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको जानकारी दिए । निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका रहेको उनको भनाई छ । गभर्नर अधिकारीले शोधनान्तर वचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको उल्लेख गरे । 

राष्ट्र बैंकले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै जाँदा आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको विश्वास व्यक्त गरे । उनले बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको बताए । बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएकाले आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको बताए । 

उनले अहिलेको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताए । उनले अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको उल्लेख गरे । गभर्नर अधिकारीले विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटेकोले चालु खाता एवं शोधनान्तर वचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको बताए । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको दाबी गरे । 

वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व राष्ट्र बैंकको प्राथमिकताः गभर्नर (सम्बोधनको पूर्ण पाठ)

Advertisement