अब लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा पनि इन्टरनेट सेवा सञ्चालन गर्न सकिने

Advertisement

काठमाडौंः नेपाल टेलिकम र साइबरनेटिक्सबीचको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट’ सेवा सञ्चालन सुरु भएको छ । सोमबार यसको शुभारम्भ गरिएको हो ।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रालिबीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिनअघि सम्झौता सम्पन्न भएको थियो ।

एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दुरीका बस यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताइन ।

यो सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनमा प्रयोग गर्न सकिने छ । डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटिक्ससँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ ।

एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनहरुः बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ ।

एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ ? सोको जानकारी जिपिएस प्रविधिमार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ ।

यो सेवा सुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने जनाइएको छ ।

Advertisement

Advertisement