भारतीय नेताहरुसँग भेटेर हैदरावाद पुगे देउवा

Advertisement

नयाँ दिल्लीः छिमेकी भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका नेताहरुले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे ।

साथै देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरे । उनीहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायत विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।

प्रधानमन्त्री देउवा दिउँसो १२ बजेपछि भने विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गरेका छन् । उनले हैदरावादमा हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिने कार्यक्रम छ । देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement