प्रधानमन्त्री देउवाले शिक्षामन्त्री श्रेष्ठलाई भने - पत्र फिर्ता लिनुहोस् नभए राजिनामा दिनुहोस्

Advertisement

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं नेसनल मेडिकल कलेजको सिट निर्धारणका लागि शिक्षामन्त्री गोपाल मान श्रेष्ठले लेखेको पत्र तत्काल फिर्ता लिन टेलिफोन गरेर निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सिट फिर्ता लिने कुरा नगरे तुरुन्त पदबाट रजिनामा दिन भनेका छन् ।

डा. गोविन्द केसीसहितको टोलीले आज बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर नेशनललाई सम्बन्धन दिन खोजिएकोमा विरोध गरेका थिए । प्रधानमन्त्रीले डा. केसीकै उपस्थितिमा शिक्षामन्त्री श्रेष्ठलाई फोन गरेका हुन्।

उहाँले मेडिकल काउन्सिलमा पठाएको पत्र फिर्ता लिनू । नभए मन्त्री पदमा नबसे हुन्छ भन्नु भयो’ भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको आदेश खारेजका लागि तत्काल निवेदन पनि शिक्षा मन्त्रालयसँगै त्रिभुवन विश्ववद्यालयलाई निर्देशन दिएका छन् ।

सर्वोच्चले हालै मात्र काठमाडौं नेसनल मेडिकल कलेज खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । लगतै शिक्षा मन्त्रालयले सिट निर्धारण गर्न पत्र खेलेपछि डा. केसीले विरोध गर्दै आएका छन् ।

डा. केसीको टोलीले चिकित्सा शिक्षा अध्यादेश रोकिएमा पनि असन्तुष्टि जनाएको छ । सरकारले डा. केसीको माग अनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न रोक लगाउने गरी अध्यादेश ल्याएको छ । तर, राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी छ ।

डा. केसीले एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने चेतावनी दिएका छन् । भेटमा प्रधानमन्त्री देउवाले भने हालै मात्र राष्ट्रपतिसँग आफ्नो कुराकानी भएको र अध्यादेश छिट्टै प्रमाणीकरण गर्ने आश्वासन पाएको सुनाए ।

Advertisement

Advertisement

Advertisement