वर्तमान सत्ता गठबन्धन छिट्टै पतन हुन्छः काँग्रेस

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने दावी गरेका छन् । 

शुक्रवार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । महतले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताए । 

Advertisement

वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको उनले जिकिर गरे । महतले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताउँदै नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताए । 

उनले भने, ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, नियालेर नै हेरिरहनुभएको छ । त्यहाँ विश्वासको रत्तिभर पनि अंश छैन । मुलतः अवसरको हिसावले कहाँकहाँ केके नियुक्ति गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ कसको के भुमिका हुन्छ, बजेटमा पनि कसरी हामीले जुन एउटा अनुशासनमा लगिरहेका थियौँ, त्यो जनताबाट उठेको करको दुरुपयोग हुनु हुँदैन, त्यसको प्राथमिकताको आधारमा जनताकै पक्षमा खर्च हुनुपर्छ । जथाभावी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ ।’ 

महतले थपे, ‘कतिलाई त्यो चित्त बुझिरहेको रहेनछ । आफूखुशी गर्न पाइएन भन्ने लागिरहेको रहेछ । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो । त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ । केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताउँदै अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताए । 

Advertisement