कास्कीमा ५६ हजारले गरे आफ्नो स्वास्थ्य बीमा

Advertisement

पोखराः कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् ।

बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । बीमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु दुई करोड ५० लाख भुक्तानी गरिसकेको छ ।

विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताए । ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । पाँच जनासम्मको प्रति परिवारले वार्षिक रु दुई हजार ५०० योगदान रकम बुझाउनुपर्नेछ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति सदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ ।

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार तथा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement