कृषि विकास बैंकको झण्डै पाँच करोड हिनामिनामा अरु पनि पक्राउ

Advertisement

काठमाडौंः कृषि विकास बैंकको न्यूरोड शाखामा भएको झण्डै पाँच करोड रुपियाँ अनियमितता प्रकरणमा थप कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कामु मुख्य शाखा प्रवन्धकसमेत छन् ।

कृषि विकास बैंकको न्यूरोडस्थित मुख्य शाखा कार्यालयबाट अन्तर शाखा कारोबार हिसाव क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम मिलेमतो गरी अनियमितता गर्ने तीन जना कर्मचारीलाई यसअघि नै पक्राउ गरी बैंकिङ कसुर ऐनअनुसार कारवाही अघि बढाइएकोमा सो कार्यमा संलग्न अन्यलाई पनि पक्राउ गरिएको छ ।

कुल चार करोड ९१ लाख रुपियाँको उक्त अनियमितता प्रकरणमा यसअघि दीपिका रेग्मीसहित तीन जनतालाई पक्राउ गरिएकोमा अहिले न्यूरोड शाखाका कामु मुख्य शाखा प्रवन्धक प्रेमहरि ढुँगेल, उक्त शाखाका इसीसी प्रमुख गोपाल गिरी र सोही शाखाका कर्जा प्रमुख महेश्वर मरहटठा छन् ।

बत्तिस बर्षीय ढुँगेल रामेछाप नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौंको वडा नं. ३२ मा बस्दै आएका छन् भने ५६ बर्षीय गिरी गोरखा पालुङटार वडा नं. ४ स्थायी घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका छन् । त्यस्तै, ३९ बर्षीय मरहट्ठा गोरखा बक्राङ वडा नं. २ स्थायी घर भई हाल काठमाडौंका चन्द्रगिरी वडा नं. ३२ मा बस्दै आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रेग्मीको बयानका आधारमा थप तीन जनाको संलग्नता भेटिएकाले उनीहरुलाई आइतबार पक्राउ गरी आज सोमबार पाटन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो ।

हालसम्मको अनुसन्धानअनुसार विभिन्न व्यक्ति तथा संस्थाले जम्मा गरेको चेक इलेक्ट्रोनिक चेक क्लियरिङ(इसीसी) मार्फत सम्वन्धित हितग्राहीको खातामा जम्मा गरिसकेपछि सोही चेकलाई प्रयोग गरी पुनः कोर बैंकिङ सिस्टमबाट गैरकानुनीरुपमा रेग्मी र उनका आफन्तहरुको खातामा जम्मा गरी ढुँगेल, गिरी, मरहट्ठालगायतले रकम हिनामिना गर्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement