काँग्रेसको अस्तित्व मेटाउँछु भन्ने नसोच्न एमालेलाई पौडेलको चेतावनी

Advertisement

काठमाडौंः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएपछि मात्रै काँग्रेसले सरकार छाड्ने भन्दै त्यसलाई पूर्णता दिने कुरामा अवरोध नगर्न एमालेलाई सल्लाह दिएका छन् ।

आफ्ना मतदाताहरुलाई धन्यवाद दिने क्रममा आइतबार र सोमबार तनहुँका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा पौडेलले काँग्रेसको अस्तित्व मेटाउन एमाले लागिपरेको भन्दै आक्रोसित भए ।

आफूहरुले जनमतको कदर गर्ने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको सफल निर्वाचन गराएकोले अब राष्ट्रियसभालाई पूर्णता दिएर मात्रै काँग्रेसले सरकार छाड्ने पौडेलले बताए । उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्नेदेखि संक्रमण काललाई व्यवस्थित गर्ने काम काँग्रेसले गर्दै आएको भन्दै अहिलेको निर्वाचनमा पार्टी केही कमजोर भए पनि यसको भूमिका र आवश्यकता जहिले उत्तिकै रहने बताए ।

संविधान र प्रक्रियालाई संस्थागत गर्ने कुरामा काँग्रेसले आफ्नो दायित्व पूरा गरेर छोड्नुपर्छ भन्दै उनले राष्ट्रियसभा गठनलगत्तै नयाँ सरकारलाई लागि बाटो खुल्ने बताए । काँग्रेसले प्रत्यक्ष निर्वाचनमा कम सिट ल्यायो भन्दैमा कमजोर सोचेर अस्थित्व मेटाउन प्रयास नगर्न एमालेलाई उनले चेतावनी दिए ।

नयाँ जनादेशले कांग्रेसलाई सच्चिएर अघि बढ्ने अवसर दिएको भन्दै पौडेलले कांग्रेसमा दुःख पाएकालाई न्याय दिन र क्षमता भएकालाई अवसर दिन जरुरी रहेको बताए । कार्यक्रमहरुले उनले आफूले तनहुँको विकासका लागि गरेको योगदानको स्मरण गर्दै भावनात्मक अभिव्यक्ति दिएका थिए । निर्वाचनमा पराजित भए पनि तनहुँको विकासका लागि विगतमा जसरी नै आफू निरन्तर लागिरहने पौडेलले बताए । आफ्नो सक्रियालाई मर्न नदिने भन्दै उनले गाउँका किसान र मजदुरहरुको उत्थान नभएसम्म समग्र मुलुकको स्थितिमा सुधार नहुने बताए ।

धन्यवाद कार्यक्रममा पौडेलसँगै निर्वाचनमा पराजित अन्य काँग्रेस नेताहरु सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement