काठमाडौँ: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली अर्थोडक्स चिया उद्योगीहरूलाई उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न अनुरुपको चिह्न वितरण गर्ने भएको छ ।
नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बनाउने उद्देश्यका साथ उद्योगीहरूलाई उक्त चिह्न दिने प्रक्रिया थालिएको, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
बोर्डले तीन वर्षअघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न कार्यान्वयनमा आएसँगै सो कामको थालिने हुन लागेको हो ।
त्यस्तै, हालै मात्रै नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिह्न कार्यान्वयनमा आएको हो।
बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार उद्योगीले चिह्न प्राप्त गर्नका लागि बोर्डमा निवेदन दिनुपर्ने छ।
गौतमका अनुसार चिह्न प्राप्त गर्नु पुर्व विभागले बनाएको अनुगमन समितिको स्थलगत निर्णयपछि मात्रै उक्त कुरा लागु हुने छ ।
बोर्डका अनुसार रासायनिक विषादी प्रयोग भएको हुन नुहने, चिया मजदुरहरूले चिया टिप्दा कस्ता साधन प्रयोग गरेका छन्, टिपेर समयमा कारखानामा पुर्याएका छन् कि छैनन् भन्ने कुरा हेरेर मात्रै चिन्ह प्रदान गरिन्छ ।
व्यापारिक चिह्न सेतो वा कालो रंगको पृष्ठभूमिमा खरानी वा सेतो रंगले दुईवटा हिमालको आकारसहित अङ्ग्रेजीमा 'नेपाल' अनि हरियो रंगले 'टी' अर्थात् चिया र त्यसको ठीक तल खरानी वा सेतो रंगले 'क्वालिटी फ्रम द हिमालयज' लेखिएको हुनेछ।
नेपालमा वार्षिक करिब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको बोर्डले जनाएको छ ।