'जलविद्युतमा 'एफडीआई' नआउनुमा राजनीतिक र झन्झटिलो प्रशासनिक झमेला प्रमुख कारण'

Advertisement

काठमाडौँ: राजधानीमा जारी नेपाल उर्जा सम्मेलनमा अधिकांश उर्जा क्षेत्रका विज्ञहरुले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानी (एफडिआई) भित्रन नसक्नुमा बढो राजनीतिक अस्थिरता र प्रशासनिक झमेला रहेको उनीहरुले तर्क गरेका छन्।

आज सकिने उक्त उर्जा सम्मेलनमा बक्ताहरुले नेपालको बढ्दो राजनीतिक अस्थिरता र देशको प्रशासनिक ढिलाईका कारण नेपालमा वैदेशिक लगानीको वातावरण बन्न नसकेको उनीहरुले बताएका हुन् । सम्मेलन शनिबारबाट सुरु भएको हो ।

सम्मेलनका क्रममा हीको भएको ‘नेपालको ऊर्जाक्षेत्रमा वैदेशिक लगानी’ शीर्षकको विज्ञहरूबीचको छलफलमा सतलज जलविद्युत् निगमका अध्यक्ष एनएल शर्माले राजनीतिक अस्थिरता, वन तथा जग्गा प्राप्ति र करमा प्रोत्साहनको कमीजस्ता समस्या रहेको बताए । सतलजले अरुण तेस्रो जलविद्युत् आयोजना (९०० मेवा) को विकास गर्दै छ ।

कुनै पनि आयोजना बन्नुअघि नै प्रसारण लाइनको सुनिश्चितता गरिसक्न उनले सरकारलाई सुझाव पनि दिए ।

फाइनान्स एट इक्वीक्याप एशियाका उपाध्यक्ष अपार न्यौपानेले विभिन्न सरोकारवालाको स्वार्थ बाझिनु पनि नेपालमा एफडीआई नआउनाका कारण भएको धारणा राखे ।

‘सरकारदेखि आयोजना प्रभावित क्षेत्र, डेभलपरदेखि कण्ट्र्याक्टर, लगानीकर्तासम्म धेरै नै सरोकारवाला जोडिन्छन्,’ उनले भने, ‘तिनीहरू सबैको आआफ्नै स्वार्थ हुन्छ, उनीहरूको स्वार्थ जति धेरै बाझिन्छ, त्यति नै आयोजना बन्ने सम्भावना कम हुन्छ ।’

कार्यक्रममा भियतनामको ड्र्यागन क्यापिटलका निर्देशक जोसेफ होसले आधारभूत काममा व्यवधान आउनुले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने बताए । ‘हामी निजीक्षेत्र छोटो समयमै कसरी धेरै मुनाफा आउँछ भन्ने हेरिरहेका हुन्छौं,’ उनले भने, ‘तर, नेपालमा अनुमति पाउन तथा क्लियरेन्सजस्ता आधारभूत काममा ५ वर्ष बित्छ ।’ यस्तोमा कोही पनि आफ्नो धेरै समय खर्चिन नचाहने उनले बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको कमर्शियल एण्ड ग्लोबल बैङ्किङका प्रमुख गोरख राणाले नेपालका बैङ्कहरूले सञ्चारको कमीले जलविद्युत्मा पर्याप्त फाइनान्सिङ गर्न नसकिरहेको बताए । ‘हालै मात्र हामी ठूला जलविद्युत्का प्रवद्र्धकसँग सामञ्जस्य हुन खोज्दै छौं,’ उनले थपे, ‘नसकेर होइन, उपयुक्त सञ्चारको कमीले हालसम्म सक्ने जति पनि फाइनान्सिङ नभइरहेको हो ।’ जापानी सहयोग नियोग (जाइका)का प्रतिनिधि नाओकी निसिमुराले भने एफडीआई आकर्षित गर्न बलियो स्थानीय साझेदार आवश्यक रहेकोमा जोड दिए ।

विदेशी लगानीकर्ताका लागि स्वपूँजी फाइनान्सिङ तथा पृष्ठभूमिको काममा दक्षतापूर्वक भूमिका खेल्नसक्ने स्थानीय साझेदारले नै नेपालको ऊर्जाक्षेत्रका लागि ठूलो आकारको विदेशी लगानी ल्याउन सक्ने उनले बताए ।

शनिवारदेखि शुरू भएको ऊर्जा सम्मेलन सोमवार सकिनेछ । कार्यक्रममा सार्क राष्ट्र, यूरोप, चीन, कोरिया, अमेरिकालगायत २४ देशका ३ सय ५० सहभागी रहेको आयोजक इनर्जी डेभलपमेण्ट काउन्सिलले जानकारी दिएको छ । सम्मेलनले नेपालको ऊर्जाको विकासका लागि विदेशी लगानी आकर्षित गर्ने आयोजकको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement