बढ्दो आयात र घट्दो रेमिटान्सले शोधनान्तर स्थिति छ अर्ब ६६ करोड घाटामा

Advertisement

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले ह्रास भई ३४० अर्ब ५४ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो ।

फलस्वरुप, खुद ट्रान्सफर आय १.७ प्रतिशतले घटी ३९३ अर्ब ३४ करोड रुपियाँमा सीमित भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.६ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा १.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.९ प्रतिशतले घटेको थियो ।

विप्रेषण आप्रवाहमा आएको कमि र बढ्दो व्यापार घाटाले गर्दा अघिल्लो वर्षको छ महिनामा ४५ अर्ब रुपियाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ६ अर्ब ६६ करोड रुपियाँले घाटामा रहेको छ ।

त्यसैगरी, अघिल्लो वर्षको छ महिनामा १ अर्ब ८ करोड रुपियाँले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७५ अर्ब ७१ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढी ४९३ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेकोे छ ।

समीक्षा अबधिमा कुल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भई ४१ अर्ब १४ करोड पुगेको छ भने कुल वस्तु आयात १५ प्रतिशतले बढेर ५३४ अर्ब १६ करोड रुपियाँ पुगेको छ ।

२०७४ असार मसान्तको १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ पुस मसान्तमा १.१ प्रतिशतले कमी आई १,०६७ अर्ब ३४ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई ९३३ अर्ब ८२ करोड रुपियाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा १५२ अर्ब १७ करोड रहेकोमा २०७४ पुस मसान्तमा १२.३ प्रतिशतले कमी आई १३३ अर्ब ५२ करोड पुगेको छ । २०७४ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement