राज्यलाई बोझ बन्दै आएका सार्वजनिक संस्थानहरुलाई फेरि अनुदान दिने योजनामा उद्योगमन्त्री

Advertisement

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले २०४६ सालदेखि यता मुलुकका राष्ट्रिय उद्योगहरु उदारीकरण र निजीकरणको नाममा बेचेर खाने काम भएको तर्क गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले राष्ट्रिय उद्योगहरु कमिशन खाएर बेच्ने काम भएको आरोप लगाए । उनले भने, ‘उद्योग चलाउन गाह्रो पर्छ । बेच्यो भने त कमिशन आउँछ । पहिले पहिले त कमिशन लिन आफैं पनि जानु पर्दैन थियो । श्रीमती, ज्वाईं, र नातेदारलाई पैसा बुझाउने गरिन्थ्यो । यही स्कुलिङले देश चलिरहेको थियो । त्यसैले सबै राष्ट्रिय उद्योगहरु निजीकरण भए ।’

यादवले रुग्ण उद्योगहरु सञ्चालन गर्नेबारे आफूले विशेष पहलकदमी लिएको बताउँदै गोरखामा रहेको गोखरकाली टायर उद्योग पुनः कसरी सञ्चालन गर्न सकिन्छ भनेर रिपोर्ट लिनको लागि विज्ञहरु पठाउँदा उनीहरुले सञ्चालन गर्न सकिँदैन भनेर रिपोर्ट दिएको बताए ।

उनका पछिल्ला भाषण सुन्दा राज्यलाई भार बन्दै आएका उद्योगहरुलाई फेरि राज्यकोषबाट ठूलो धनराशी खर्च गर्ने योजना देखिन्छ । सरकारको लगानी रहेका धेरै उद्योग तथा संस्थाहरु भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, कुशल व्यवस्थापनको अभाव जस्ता कुराले गर्दा उल्टै राज्यलाई अबौं रुपियाँको बोझ बन्दै आएका छन् ।

कार्यक्रममा यादवले तर्क गरे, ‘म चाहीं कसरी उद्योग सञ्चालन गर्न सकिन्छ भनेर विज्ञहरु पठाएँ, तर उनीहरुले सञ्चालन नै गर्न सकिँदैन भनेर रिपोर्ट पेश गरे । किनकी बेचेर खान सजिलो छ । अब हामी त्यो टिमलाई विशेष क्लास दिन्छौं ।’

मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै नेताले भ्रष्टाचार गर्नेलाई जेल हालेरै छोड्ने भन्दै सस्तो कुरा बोले । अहिलेको सरकारले कुनै पनि किसिमको भ्रष्टाचार नसहने उनको तर्क जिकिर थियो ।

Advertisement

Advertisement