ट्रेड युनियन काँग्रेसमा पौडेल पक्षधर प्यानलै बिजयी, क्यासिनो प्रकरणमा मुछिएका दाहाल पराजित

Advertisement

काठमाडौंः नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनबाट रामचन्द्र पौडेल पक्षधर प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनामा पौडेल्पक्षका अध्यक्ष उमेद्वार पुष्कर आचार्यको प्यानल नै विजयी भएको हो ।

आचार्यले ८१८ मत ल्याउँदा शेरबहादुर देउवा पक्षका खिलानाथ दाहालले ५३३ मत मात्रै ल्याए । ट्रेड युनियन काँग्रेसको अध्यक्ष हुँदाहुँदै भारी मतअन्तरले दाहाल पराजित हुनुमा उनले क्यासिनो मजदुरहरुको समस्याप्रति उदासिन बन्दै उल्टै नयाँ क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लाभ लिएको आरोप लाग्नु हो ।

विशेषगरी दरबारमार्गस्थित क्यासिनो अन्नाका सयौं मजदुरहरु आफ्नो रोजीरोटीका लागि संघर्ष गरिरहँदा दाहालले अन्नपूर्ण होटलको सञ्चालक सिर्जना राणा र निवर्तमान पर्यटनमन्त्री जितेन्द्र देवसँग मिलेमतो गरी नयाँ क्यासिनोलाई अनुमति दिने लागिपरेको क्यासिनो मजदुरहरुको गुनासो रहँदै आएको छ ।

बर्षौदेखिको बाँकी तलव सुविधासहित सेवाको निरन्तरताका लागि संघर्ष गर्दै आएका क्यासिनो अन्नाका मजदुरहरुलाई अन्नपूर्ण होटल सञ्चालकले बेवास्ता गर्दै नयाँ क्यासिनो खोल्दा पनि दाहालले मजदुरहरुको पक्षमा उदासिनता देखाउँदै आएका थिए ।

दाहालले आफ्नो कार्यकालमा समग्र मजदुरहरुको हकहित र अधिकारका लागि आवाज उठाउन असफल भएको, व्यक्तिगत लाभमा बढि ध्यान दिएको, मातृ पार्टी काँग्रेसलाई बलियो बनाउन भूमिका निर्वाह गर्न नसकेको आरोप महाधिवेशनका क्रममा प्रतिनिधिहरुले लगाएका थिए ।

त्यस्तै, ट्रेड युनियन काँग्रेसको वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन्।

यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन्।

दाहाल र आचार्य दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवारले जितेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका दाहालको प्यानलबाट खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् । एक हजार ४ सय २० मतदाता रहेको ट्रेड युनियन कांग्रेसमा एक हजार ३ सय ९८ मत खसेको थियो।

Advertisement

Advertisement

Advertisement