‘वर्तमान सरकार पञ्चायती शैलीको निरंकुश शासकहरु र पहिलेका राजा तथा महाराजा जस्तो’

Advertisement

काठमाडौंः प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश शासकहरु र पहिलेका राजा तथा महाराजा जस्तो भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायती जस्तो र शासकहरु राजा र महाराजा जस्ता देखिन्छन् । यो ठिक छैन । सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन् । कानूनमा होइन । गफ बढि दिने तर काम कम देखियो ।’

लेखकले सरकारका गतिविधिहरु कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाए । उनले भने, ‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन । पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो । नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन । निषेधित क्षेत्र तोकिएका छन् । यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन ।’

नेता लेखकले थपे, ‘मुलुकको समग्र अवस्था ठिक छैन । मुलुक संविधान र कानूनसम्मत् ढंगले चलिरहेको छैन । एकांकी र लहडको भरमा चलेको छ । हुन त अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन । तर, सरकारले अहिले मुलुकलाई सही ढंगले चलाएको पाइएन् ।’

जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रति पनि सरकार अनुदार बनेको लेखकको आरोप छ । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था बिग्रंदो छ । उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्सकहरुलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ । यदि यो साँचो हो भने गलत छ । अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ । त्यो धेरै गलत छ ।’

केसीका मागहरु जायज रहेको उल्लेख गर्दै लेखकले माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनै पनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने जिकिर छ । उनले भने, ‘सरकारले अहिले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकले अध्यादेशको मूल मर्म नै समाप्त पारेको छ । यो विद्येयक त केही सीमित मानिसहरुलाई मात्रै लाभ पुर्याउनेगरि आएको छ ।’

अध्यादेशको भावना विपरित आउन लागेको विद्येयकप्रति आफूहरुको गम्भीर आपत्ति रहेको पनि लेखकले जनाए । त्यस्तै, उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहारपनि राम्रो नरहेको गुनासो पोखे । लेखकले भने, ‘गंगामायाको जीवन रक्षाको लागि सरकार गम्भीर बन्नुपर्छ ।’

नेता लेखकले बाढी पहिरो लगायतका प्राकृति प्रकोपका बारेमा सरकारलाई मात्रै दोष दिने कुरा सुहाउने नहुने बताउँदै यस्ता खाले विपतको सामाना गर्न सरकार तथा प्रतिपक्षी लगायत सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘विपतको समयमा प्रभावित क्षेत्रमा उद्दार र राहतको लागि पार्टी संगठनलाई प्रभावकारी रुपमा परिचालन गर्छौं ।’

Advertisement

Advertisement

Advertisement