डा. केसीको अवस्था निकै नाजुक, सरकारसँगको वार्तामा पनि कुरा मिलेन

Advertisement

काठमाडौं । विगत २६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

चिकित्सकहरुले ड्युटीको समय मिलाउँदै केसीको उपचारमा संलग्न भइरहेको भन्दै केसीको स्वास्थ्य अवस्था नाजुक बनेको जनाएका छन् । उनको सेतो रक्तकोशिका (डब्लुबिसी)को संख्या हालसम्मकै न्यून भएको छ।

डा. लक्ष्मण भुसाल भन्छन, ‘रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ । रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्छ । डा. केसीको रक्तचाप पनि अत्यन्त कम रहेको छ । यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्नेछ ।’

केसीले बिस्तारै होस गुमाउँदै भएको उनले जानकारी दिए । भुसालले हिजो मात्रै आफै बसेर डा. केसीको रगत जाँच गराएको डा. केसीले आज बिर्सिएको उदाहरण दिँदै केही दिन यहि अवस्था रहिरहे दिमागमा गम्भीर असर पर्ने चेतावनी दिए ।

सरकारले जुम्लाबाट सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर पनि डा. केसीको उपचारका लागि मेडिकल टिम बन्न सकेको छैन् । स्वतस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका छन् । उनको उपचारमा २४सै घण्टा निगरानी गर्ने काम हुन नसकेको चिकित्सकहरु बताउँछन् ।

उनीहरुका अनुसार डा. केसीको अवस्थाको बिरामीलार्इ आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसकेका छन्।

यता सरकारी वार्ता टोली र अनसनरत डा. केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन टुङ्गिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता बुधबार समेत निष्कर्षमा पुग्न नसक्दा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको हो ।

केसीको जीवन रक्षाका लागि चौतर्फी दबाब बढे पनि सरकारले भने उनका माग सम्बोधन गर्नतर्फ खासै ध्यान दिएको छैन । अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको मागको सन्दर्भ सरकारी वार्ता टोली सकरात्मक नबन्दा वार्ता निष्कर्ष विहिन भएको हो ।

सरकारी टोलीसँगको वार्तापछि प्रेस विज्ञप्ती जारी गर्दै डा. केसी पक्षधरले सरकार जिम्मेवार भै वार्तामा प्रस्तुत नभएको आरोप समेत लगाएको छ ।

Advertisement

Advertisement

Advertisement