सन्दर्भः विश्व क्षयरोग दिवस, संक्रमण र मृत्युदरमा वृद्धि

Advertisement

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा १९७ पुरुष र ८७ महिला गरी २८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षयरोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताए । ‘जिल्लामा अहिले २८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ,’ उनले भने, ‘औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।’

Advertisement

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए ।


जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताए । ‘जिल्लामा गत आव २०७९र८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८र७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो,’ उनले भने, ‘आव २०७७र७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।’

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताए । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर ९ड्रक रेसिस्टेन्ट० होस्टल रहेको छ । चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डीआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । ‘चालू आवको माघसम्म १७ जनामा डीआर क्षयरोगी भेटिएका छन् । चितवनका ११, नवलपरासीका चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्,’ उनले भने ।

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासीसँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ९४५ डट्स केन्द्र रहेको छ । ‘जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको संख्या बढ्दै गइरहेको छ,’ फोकल पर्सन तिवारीले भने, ‘समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।’

क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताए । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उनले बताए ।

विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन् । ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

नेपालमा गत आव २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा रहेको छ । सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा १८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

Advertisement

Advertisement