अर्थमन्त्रीले संघीयता कार्यान्वयनको पाँच बर्षे ढाँचा देखाउँदै विश्व बैंकसँग सहयोग मागे

Advertisement

काठमाडौं । संघीयता कार्यान्वयनका लागि सहयोग माग्न विश्व बैंक मुख्यालय पुगेका अर्थमन्त्री युवराज खतिवडाले आगामी पाँच बर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

विश्व बैंकका कार्यकारी निर्देशकहरुसँगको भेटमा खतिवडाले अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुन विश्व बैंकले थप सहयोग गर्नुपर्ने बताए । संघीय प्रणालीमा गएसँगै खर्च ह्वात्तै बढेपछि सरकार समस्यामा परेको बेला अर्थमन्त्री थप सहयोगका लागि कुरा गर्न विश्व बैंक पुगेका हुन ।

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार खतिवडाले अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कार्की र अर्थ मन्त्रालय बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाललाई बोकेर बैठकमा पुगेका थिए । बैठक बुधबारदेखि तीन दिनसम्म चल्नेछ ।

मन्त्री विश्व बैंकका कार्यकारी निर्देशकहरूको स‌युक्त बैठकमा बोल्दै नेपालले निरन्तर सुधारलार्इ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । उनले थप सहयोग माग गरेपछि कार्यकारी निर्देशकहरुले त्यसको कारण खोज्दै प्रश्नहरु सोधेका थिए ।

खतिवडाले सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नती हुने दिर्धकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको भन्दै स्थानीय तहको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरणका लागि नेपाल सरकारले जोड दिएको जिकिर गरे ।

विश्व बैकको मुख्यालयमा आजै खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हार्टविग सेफरसँग भेट गरे । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेका संघीयता कार्यान्वयनबारे प्रश्न खडा गरेका थिए । प्रतिउत्तरमा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएर करिब ३६ हजार जनप्रतिनिधि निर्वाचित भएको र उनीहरूले जनताले चाहेअनुसार काम गरिरहेको दावी गरेका थिए ।

उनले नेपालको अर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको अवश्यकता रहेको बताए । यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको भन्दै खतिवडाले संघीयताको व्यवस्थापन र विकास वित्तको लागि आन्तरिक साधन र स्रोत मात्र अपर्याप्त हुने भएकोले विश्व बैंकसँग नेपालले सार्थक सहयोयको अपेक्षा राखेको बताए ।

विश्व बैंकका क्षेत्रीय उपाध्यक्षले विश्व बैक समूह एकीकृतरुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको बताएको अर्थ मन्त्रालयले जनाएको छ । उनले विश्व बैकको अन्तर्राष्टिय विकास सहयोग र अन्तर्राष्टिय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरू लगायतबाट नेपालको उर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्न सकिने बताए ।

मन्त्री खतिवडाले राजनैतिक परिवर्तनपछि जनअपेक्षा बढेको भन्दै तीव्र आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय सहितको विकास र सम्वृद्धि आफूहरुको लक्ष्य रहेको बताए ।

विश्व बैंकका नेपालसमेत हेर्ने कार्यकारी निर्देशक आन्दिन हादियान्तोले अगस्त ७ को बैंक बोर्ड बैठकमा प्रस्तावित नेपालको विकासमा साझेदारी खाका बारे छलफल हुने आश्वासन दिए । मन्त्री खतिवडाले उनीसँग पनि नेपालको विकासमा थप सहयोगको लागि आग्रह गरेका थिए । मन्त्री खतिवडाले विश्व बैंकका उर्जा र वित्तीय कोषका निर्देशक लगायतका पदाधिकारीहरूसँग पनि भेट गरी नेपालको उर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यबारे कुरा गरेका छन् ।

उक्त भेटहरुमा उनले नेपालको तत्काल चालू आयोजनाहरूका अतिरिक्त ठूला आयोजनाहरूको निर्माणमा विश्व बैंकले परीयोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरे । साथै खतिवडाले उर्जा क्षेत्रमा कानूनी, संरचनागत लगायतका सुधारमा निरन्तरता रहने र लगानीमैत्री वातावरण सिर्जना गर्नमा सरकार प्रतिबध्द रहेको बताए ।

मन्त्री खतिवडाले विश्व बैंकका कार्यबाहक प्रमुख सान्ता देवराजनसँग पनि भेट गरेका छन् । भेटमा उनले नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासहरूबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालेको बताए ।

Advertisement

Advertisement

Advertisement