सवारी चालकहरुको बन्दकाकारण मल बन्दरगाहमै थन्कियो

Advertisement

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।

ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल एक हजार दुई सय मा खरिद गर्दै आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विजय पण्डितले बताए ।

तुर्र्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले जानकारी दिए । ‘थप पाँच हजार मेट्रिक टन युरिया आयात गर्दै छौ’ उनले भने । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा एक सय बोरा मात्र दिने गरेको छ । ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

कम्पनीले पर्सामा आव २०७४÷७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डिएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास एक सय ५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो । चालू आवको साउनमा नौ हजार छ सय ९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, चितवनलगायतका २० हजार एक सय १४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार एक सय ३९ मेट्रिक टन मल बिक्री वितरण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement