आठ महिनाको सरकारको कार्यप्रगति शुन्यः कमल थापा

Advertisement

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको सरकारले आठ महिनामा कामै गर्न नसकेको आरोप लगाएका छन् । फिदिममा आइतबार आयोजित कार्यक्रममा उनले सरकारको कार्यसमीक्षा गर्दा पूर्णरुपमा असफल भएको बताए ।

थापाले विकासलाई गति दिन, मुलुकमा शान्तिसुरक्षा कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न दुई तिहाई बहुमतको सरकार असफल भएको भन्दै भने, ‘जनताको अपेक्षा अनुरुप राजनीतिक स्थिरता कायम गरेर विकास निर्माणको कामले गति लिन्छ होला ? भन्ने अपेक्षा थियो, त्यो हुन सकेन । निर्मला पन्तको बलात्कार र हत्या हुँदा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन। बरु अपराधिलाई उन्मुक्ति दिनेतर्फ जिम्मेवार पदाधिकारी नै रहेको पुष्टि भएको छ। देशभरी अपराधका घटना बढिरहेका छन्।’

उनले नीतिगत र संस्थागत रुपमा व्यापक भष्ट्रचार भइरहेको भन्दै अर्थतन्त्र नै कमजोर हुँदै गएको बताए । थापका अनुसार राज्यका विभिन्न क्षेत्रमा सरकारको उपस्थिति दरबिलो छैन। विखण्डकारी शक्तिहरु क्रियाशिल भइरहेका छन् । राष्ट्रिय राजनीतिमा वाह्य चलखेल बढिरहेको छ। सरकारको पराष्ट्र नीति सन्तुलित हुन सकेको छैन।

नेता थापाले धर्म परिवर्तनबाट सामाजिक सद्भाव र एकता खल्बल्याउने प्रयास भइरहेको भन्दै देशमा राजनीतिक परिवर्तन भए पनि जनताले कुनै अनुभूति गर्न नपाएको बताए ।

Advertisement

Advertisement

Advertisement